• १९ वैशाख २०८१, बुधबार

पाटनमा भव्यताका साथ मनाइयो गाईजात्रा (फोटो फिचर)

blog

तस्बिर : सागर बस्नेत

काठमाडौं, साउन २७ गते । शुक्रबार राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायले गाईजात्रा भव्यताका साथ मनाइएको छ ।

मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइएको छ ।


गाईजात्रा मनाउने क्रममा ललितपुरस्थित पाटनको टोलटोमा झँकीसहित गाईजात्रा निकालिएको छ । गाईजात्रा ललितपुरको पाटनलगायत बङ्गलामुखि, खोकना, ठेचो सुनाकोठी चापागाँउ, टिकाभैरव, लूभू लामाटार, ठैव बाँडेगाउँ र सिद्धिपुरलगायतका नेवारी बस्तीमा धुमधामका साथ मनाइन्छ ।

मृत्यु भएका परिवारजनाको नाममा गाई वा मानिसलाई गाई जस्तै बनाएर टोल–टोल घुमाउने चलन छ ।


यसै गरी, धार्मिक र सांस्कृतिक महत्त्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ ।

भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गमको पर्वको रुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत गाईजात्रालाई लिने गरिन्छ ।


मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजनले मृतकको सम्झनामा रुनु पर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हास्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ ।


भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाकालगायत बनेपा, धुलिखेल र पनौतीलगायतका सहरबाट समेत हजारौंको सङ्ख्यामा दर्शक आउने गर्दछन् । भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।