• २३ असार २०८१, आइतबार

सीमानाकामा कर्मचारीमाथि भएको कुटपिटप्रति निजामति कर्मचारीको ध्यानाकर्षण

blog

काठमाडौं, साउन २५ गते । वीरगञ्जमा कार्यालय सहयोगीमाथि भएको कुटपिटका सम्बन्धमा नेपाल निजामति कर्मचारी संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सोमबार राति नेपाल–भारतबीचको सीमानाका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट भएको थियो ।

संगठनका अध्यक्ष मधुसुदन पौडेलद्वारा जारी विज्ञप्तिमा साउन २३ गते सोमबार राति १० बजे नेपालतर्फ आउने गेट बन्द भइसकेपछि करिब ११ बजे केही मानिसहरु निजी नेपाली नम्बर प्लेटको सवारी साधनमा नेपाल प्रवेश गर्न खोजेको उल्लेख छ ।

गेट बन्द भएका कारण कार्यालय सहयोगी बिशंखेले प्रवेश गर्न नमिल्ने भनेपछि बिशंखेमाथि केही मानिसहरुले ज्यादती एवम् अमानवीय रुपमा कुटपिट गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको विज्ञप्तिमा लेखिएको छ । 

संगठनले जिम्मेवार सुरक्षा संयन्त्रमा कार्यरत सुरक्षाकर्मीबाटै असुरक्षाको घटना घट्नु राज्यविरुद्धको अपराध रहेकाले यसमा संलग्न व्यक्तिलाई कानुन बमोजिम यथाशिघ्र कारबाहीको माग गरेको छ ।

भावी दिनमा यस्ता घटना नदोहोरिने अवस्थाको निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।