• १३ साउन २०८१, आइतबार

भेरी खानेपानीको डिजाइन रिभ्यु हुने

blog

नवीन सुवेदी 

सुर्खेत, साउन २५ गते । भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा बृद्धि हुनसक्ने जनसंख्यालाई पानीको सहज आपूर्ति गर्ने उद्देश्य राखी निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर माथी विज्ञहरुबाट पुनः परामर्श लिन लागिएको हो ।

ठुलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस भन्ने हेतुले पुनः परामर्श गर्न लागिएको आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । दुई खण्डमा गरी ६ अर्ब रुपियाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डिपिआरमाथि ‘रिभ्यु’ गर्न विभागले समय थप गरेको हो ।

विभागका सिनियर डिभिजनल इन्जिनियर मधु खनालले डिजाइन रिभ्युका लागि कम्तीमा दुईदेखि तीन महिना समय लाग्ने बताउनुभयो  । ‘यो ठूलो आयोजना हो, यसको कुनै डिजाइन बीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कम्तीमा निर्माण पूर्व नै हामीले पर्याप्त रिभ्यु गर्न सक्यौं भने पछि आउने प्राविधिक त्रुटी रोक्न सक्छौं ।’

उहाँका अनुसार रिभ्युपश्चात आयोजना कार्यान्वयन चरणमा जानेछ । संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा आर्थिक वर्ष २०७९/८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एकसय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो । जसअनुसार संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, रुपियाँ सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनु पर्नेहुन्छ ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्याचुल फण्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ५ करोड रुपियाँ विनियोजन गरेको छ  । नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख रुपियाँ विनियोजन गरेको छ । दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर ११ को अमृतडाँडामा पानी ल्याइनेछ ।

पहिलो चरणका कामहरुमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार रहेका छन् । यस्तै दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ ।

वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया डीएमए को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिव ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी ४०० मिटर उचाईमा प्रशोधन ट्याङ्की ट्रिटमेन्ट प्लान मा खसालिने छ ।

त्यस पश्चात करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्व ट्याङ्कीमा पानी खसालिने छ  । ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ । अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । निर्माण सुरु भएको ६ वर्षभित्रमा भेरी नदीको पानी उपत्यकामा आइपुग्ने छ ।

वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानु दिन खानेपानी समस्या चुलिदै गएको छ । हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ । खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ ।

तर, माग बमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन । संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजारबढी घरधुरीलाई खानेपानीको पहुँमा पु¥याउन सकेको छैन । हाल संस्थाले झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ । वीरेन्द्रनगरमा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि स्रोतको खोजी तथा विभिन्न अध्ययन गरिएको थियो । आयोजनाकै लागि वर्षेनि बजेट फिर्ता पनि  हुने गरेको थियो ।