• ८ वैशाख २०८१, शनिबार

वन अधिकृतसहित १३ कर्मचारीविरुद्ध ३२ लाखको भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते। मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित अन्य १३ कर्मचारीमाथि ३२ लाख ४९ हजार १९० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मंगलबार उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। 

आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ अन्तर्गत चंखेली हिमालदेखि दुधताल सात दहसम्म पर्यटकीय मार्ग निर्माण गर्न रकम हिनामिना गरेको आरोप छ। बुढथापासहित सव-इन्जिनियरद्वय हिमाल कुमार मल्ल र गोरसिंह बढुवालसमेतको मिलेमतोमा मापदण्ड विपरीत प्रतिवेदन तयार गरेको आरोप लागेको हो। 

सडक निर्माणका क्रममा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढालगायत भ्रष्टाचार मुद्दामा तानिनुभएको छ। वन अधिकृत सहित १३ कर्मचारीविरुद्ध २० लाख ४८ हजार ४०३ रुपियाँ बिगो रकमको माग दाबी गरिएको छ। 

यसैगरी, जिल्ला विकास समिति कार्यालय, कालिकोटका तत्कालीन खरिदार हाल पलाँता गाउँपालिकाका नायब सुब्बा रामबहादुर बमले आर्थिक वर्ष २०७०/७१ मा दुई लाख, ३४ हजार ११ रुपियाँ रकम हिनामिना गरेको आरोप लागेको छ। 

कालिकोट जिल्लाका तत्कालीन कार्यक्रम संयोजक कमलप्रसाद खनालले सोही आर्थिक वर्षमा विभिन्न कार्यक्रम अनुरुप प्रचारप्रसार कार्यक्रममा रकम हिनामिना गरेको आरोप लागेको छ। खनालमाथि तीन लाख २६ हजार ४९७ रुपियाँ रकम हिनामिना गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

सोही आर्थिक वर्षमा कालिकोटकै अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म-८ ताडी, भवन निर्माण कार्यमा उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना पाण्डेले दुई लाख ५१ हजार ५२९ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको हो।

यसैगरी, कृषि विकास कार्यालय, कालिकोटले सोही आर्थिक वर्षमा सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा तत्कालीन प्राविधिक सहायक रत्नप्रसाद पाण्डेले तीन लाख ८८ हजार ७५० रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। पाण्डे हाल गुठीचौर गाउँपालिका जुम्लाका छैटौं तहका अधिकृत हुनुहुन्छ। आरोपितमाथि ऐन बमोजिम कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो।