• १५ चैत २०८०, बिहिबार

पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने

blog

सिन्धुपाल्चोक, साउन २४ गते । मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताउनुभयो । 

नगरप्रमुख तामाङले अहिले नगरपालिकाको प्रायः सबै वडाहरुमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरुमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको उहाँको भनाइ छ । सोमबार वडा नं २ निबुगाउँमा गएको पहिराको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । 

अवलकोनकै लागि पुग्नुभएकी उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्नसमेत आग्रह गर्नुभयो । 

उपप्रमुख प्रधानले स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो । अवलोकनमा वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले पीडितहरुको माग र तत्कालीन समस्याका बारेमा प्रमुख र उपप्रमुखलाई जानकारी गराउनुभएको थियो । 

साउन २० गते बेलुका गएको पहिराले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरु छिमेकीमा आश्रय लिएर बस्न परेको स्थानीय रामचन्द्र दुलालले बताउनुभयो । अवलोकनपछि काउले भोटेचौर सडक खुलाउनका लागि काम सुरु भएको छ ।