• ७ वैशाख २०८१, शुक्रबार

एमालेले सुझाव सङ्कलन गर्ने

blog

गोरखापत्र समाचारदाता

ललितपुर, साउन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश समितिले पार्टीप्रति बौद्धिक वर्गको धारणा बुझ्न सुझाव सङ्कलन गर्ने भएको छ । ललितपुरमा सोमबार बसेको सचिवालय बैठकले बागमती प्रदेशका सबै जिल्लामा पुगेर बुद्धिजीवीले एमालेलाई कसरी हेरिरहेका छन् भनेर त्यसबारे सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो । 

बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले बुद्धिजीवीले एमालेलाई कसरी हेरिरहनुभएको छ र उहाँहरूको आलोचना, सुझाव र टिप्पणी सङ्कलन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले प्रदेश कमिटीमा रहेका १३ जिल्लाले जिल्लास्तरीय रूपमा सुझाव सङ्कलन गर्ने तथा भदौ १० गते काठमाडौँमा बृहत् भेला गर्ने जानकारी दिनुभयो । 

प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्नेको पहिचान गरी अग्रजको सम्मान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले महँगी र भ्रष्टाचारले समस्या पारेको भन्दै जिल्ला र पालिका तहसम्मै पुगेर आन्दोलन गर्ने निर्णय गरेको छ ।