• १३ वैशाख २०८१, बिहिबार

आयोजना सकिएको दुई वर्षमा पनि आएन पानी

blog

माझी बस्तीमा निर्माण गरिएको धारा । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, साउन २३ गते ।
बागलुङ नगरपालिका–१ खनियाघाटस्थित माझी वस्ती लक्षित खानेपानी आयोजनाको काम सम्पन्न भएको दुई वर्ष पुग्यो । ‘एक घर एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी जडान गर्न वस्तीका २२ वटा घरमा धारा जडान भए पनि पानी आएको छैन ।

कालीगण्डकी नदीको पानी लिफ्ट प्रविधिबाट तानेर वस्तीमाथि निर्माण भएको ट्याङ्कीमा सङ्कलन गर्ने संरचना तयार  छ । पानी तान्न प्रयोग हुने ‘पम्पिङ्ग मेसिन र विद्युत् जडान नहुँदा आयोजनाले पूर्णता नपाएको हो ।

घरघरमा धारा जडान भए पनि स्थानीयले व्यक्तिगत मुलको पानीलाई पैसा तिरेर उपभोग गर्न बाध्य छन् । माझी वस्तीको लागि पर्वत जलजला गाउँपालिकाको दमुवाखोला नजिकै निजी आवदीको मुलको पानी पाइपमार्फत ल्याइएको छ ।

मुलको पानी उपभोग गरेबापत मुलधनीलाई स्थानीयले वार्षिक ३० हजार रुपियाँ बुझाउँछन् । ‘‘घरमा धारा जडान भएको दुई वर्ष बित्यो तर, पानी आउँदैन,’’ स्थानीय माया माझीले भन्नुभयो, ‘‘भन्दा नमुना वस्ती भनिएपनि पानी र बिजुलीको सुविधा भने छैन ।’’ स्थानीयले पर्वत जिल्लाबाट जडान भएको विद्युत उयोग गर्दै आएका छन् ।

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाई कार्यालयबीचको समन्वय अभावले आयोजनाले पूर्णता नपाएको हो ।

खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी नआएको बताउनुभयो ।

धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको ३० लाख रुपियाँ खर्च भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर इश्वरीप्रसाद शर्माले हिउँद भित्र माझी वस्तीमा खानेपानी पुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘उपभोक्ता समिति, कार्यालयबीच समन्वयको अभाव देखिन्छ । आउँदो हिउँदमा स्थानीयले घरमै पानी पाउँछन् ।’’