• ५ साउन २०८१, शनिबार

सत्तारुढ पाँच दलीय कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

blog

फाइल तस्बिर

काठमाडौं, साउन २३ गते । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको ढाँचासहित सुझाव दिन गठित सत्तारुढ पाँचदलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि गठित ११ सदस्यीय कार्यदलको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।  

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा गठबन्धनको सिट बाँडफाँटलगायत आगामी निर्वाचन र समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने माओवादी केन्द्रबाट वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा हुनुहुन्छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम  भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायक यादव र रकम चेम्जोङ तथा  राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र ढाँचा बनाउनेछ ।