• ५ साउन २०८१, शनिबार

भारतबाट अवैध कुखुरा, मासु आयात

blog

वसन्त पराजुली 

भरतपुर, साउन २३ गते । नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । 

ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । 

खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भित्र्याउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो ।  “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।” 

काठमाडौँमा आइतबार कुखुराको मासुको मूल्य प्रतिकिलो ३४५ रुपियाँ छ । एकोहोरो मूल्यमा आएको गिरावटले किसानले कुखुरामा हुने लागतसमेत उठाउन नसकेको गुनासो गरिरहेका छन् । 

बजारमा खपत भएको झन्डै एक तिहाइ मासु भारतबाट आयात भइरहेको व्यवसायीको दाबी छ । 

नेपालमा दैनिक आठ लाख केजी कुखुराको मासु खपत हुन्छ । जसमध्ये ३३ प्रतिशत कुखुराको मासु भारतीय बजारबाट आइरहेको बताइन्छ । बाँकी नेपालकै उत्पादनमा भर पर्नुपर्छ । नेपालमा खपत हुने मासुको ७५ प्रतिशत बजार काठमाडौँले ओगटेको छ । अहिले आउने भारतीय मासु पनि काठमाडौँ नै जाने गरेको छ ।  

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष जङ्गबहादुर बेल्बासे सस्तोको नाममा जोखिम नै मोलेर अहिले सीमा क्षेत्रबाट कुखुरा भित्रिइरहेको स्वीकार्नुहुन्छ ।  

नेपालमा कुखुराको २१ हजार ९५६ फार्म रहेकामा २० हजार ४८३ बोइलर कुखुराको फार्म चितवनमा छ । जसमा पाँच करोड २६ लाख ६६ हजार २९ बोइलर कुखुरा पालिएका छन् । बोइलर मासुका लागि पालिने कुखुरा हुन् । देशभरिमा अहिले ६४ जिल्लामा कुखुरापालन रहेको तथ्याङ्क कुखुरा व्यवसायी मञ्चसँग छ । नेपालमा उत्पादन हुने कुखुराको मासुमध्ये ६० प्रतिशत चितवनमा उत्पादन हुन्छ ।