• ११ वैशाख २०८१, मङ्गलबार

पोखरीको सौन्दर्यीकरणले उपलब्धि भएन

blog

जीबछ यादव

लहान, साउन २३ गते । लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर चोकस्थित मौलिक पोखरीका नामले चिनिने पुरानो पोखरीको सौन्दर्यीकरणमा लभभग दुई करोड खर्च भएको छ तर यसबाट खासै उपलब्धि नभएको स्थानीयले गुनासो गरेका छन्। 

स्थानीय शम्भु यादवका अनुसार सिरहा–१ का सङ्घीय सांसद प्रदीप गिरीको निजी पोखरी सरकारी पोखरीमा परिणत भयो। लक्ष्मीपुर पतारी गाउँपालिकाको सबैभन्दा बढी माछा उत्पादन हुने यो पोखरी पाँच लाखसम्ममा ठेक्का लाग्दथ्यो। चोकको सबै पानी पोखरीमा जाँदा माछा फस्टाउँथ्यो। अहिले पोखरीको माटो निकालेर गहिराइ बढ्दा माछा उत्पादन घटेको छ। 

‘बालबालिका पोखरीमा डुब्ने भयले स्थानीय सधैँ चिन्तित रहने गरेका छन्। निर्माण गरेको पक्की घाटमा बालबालिका नुहाउन जाँदा चिप्लिएर डुब्ने भयले बालबालिकाको निगरानी गरिरहनुपर्ने अर्को समस्या सिर्जना भएको छ। गत वर्ष एक बालकको पोखरीमा डुबेर मृत्यु भयो’, स्थानीय हलखोरी साहले भन्नुभयो।

‘तीन पटक क्रमशः ५५, ५८ लाख र ६८ लाख गरी एक करोड ८१ लाख रुपियाँ खर्चमा सौन्दर्यीकरण भएको हो। सौन्दर्यीकरणको योजना आउँदा सुरुमा स्थानीय निकै खुसी भएका थिए। प्राविधिकले पोखरीको उचित सौन्दर्यकरण गरेर माछा उत्पादन पनि भइरहने बताएका थिए तर अहिले पोखरीको पानी निकास नहुने गरी हचुवाको भरमा निर्माण गरेको देखियो। सौन्दर्यीकरण कमाइ खाने भाँडो पो रहेको प्रमाणित हुँदैछ,’ स्थानीय सामूहिक रूपमा दुखेसो पोख्छन्। 

‘पोखरीको सौन्दर्यीकरण नाममा मधेश प्रदेश सरकारबाट ल्याएको एक करोड ८१ लाख रकममा एक करोड पनि खर्च भएको छैन। पोखरीको पानी निकास नहुँदा बालबालिका डुब्ने भय बढेसँगै बर्सेनि भइरहेको आम्दानीसमेत घटेको छ। यसमा भएको अनियमितताबारे छानबिन हुनुपर्छ’, सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले माग गर्नुभयो। 

वडा नम्बर–६ का वडाध्यक्ष अजय यादवले पोखरीको सौन्दर्यीकरणमा अनियमितता भए÷नभएको बारेमा अध्ययन गरिरहेको भन्दै यस विषयमा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरसँग छलफल गरिरहेको बताउनुभयो। सिरहा जिल्लामा सीतापुर मात्रै होइन, बरियारपटी, विष्णुपुर गाउँपालिका र सिरहा नगरपालिका लगायतका पोखरी सौन्दर्यीकरणका लागि प्रदेश सरकारबाट आएको बजेटमा अनियमितता भएको व्यापक चर्चा जिल्लामा चल्ने गर्छ।