• ७ वैशाख २०८१, शुक्रबार

थप आठ स्थानबाट विषादी परीक्षण हुने

blog

काठमाडौँ, साउन २३ गते ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनदेखि थप आठ स्थानबाट देशबाहिरबाट आयात भएका तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष (आरबीपीआर विधि)मार्फत परीक्षण सुरु गरेको छ । 

यसअघि विभागले देशका विभिन्न सात नाकामा रहेका भन्सार कार्यालय आसपासमा बसेर आयातित फलफूल तथा तरकारीको परीक्षण गर्दै आएकामा साउनदेखि थप आठ स्थानबाट परीक्षण सुरु गरेको विभागले जनाएको छ । 

विभागले साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्डाचौकी, चोभार सुक्खा बन्दरगाह, सुक्खा बन्दरगाह सिर्सियामा पनि विषादी परीक्षण सुरु भइसकेको छ भने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराएर भर्खर परीक्षण सुरु गरेको जनाएको छ । यसअघि हाल काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै परीक्षण गर्दै आएको थियो । 

विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले हाल परीक्षण हुँदै आएका स्थानबाहेकका नाकाबाट ठूलो परिणाममा तरकारी र फलफूल भित्रिने हुँदा थप प्रयोगशाला आवश्यक ठानी यही साउनदेखि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । डा. जोशीका अनुसार ती नाकामा आरबीपीआर विधिमार्फत अर्गानो फोस्फेट र कार्बामेट समूहको विषादी परीक्षण गर्न सुरु गरिएको छ । 

तरकारी तथा फलफूल खान अयोग्य

विभागले सातवटा प्रयोगशालाबाट आर्थिक वर्ष २०७८/७९ को कात्तिक १ देखि असारसम्म ५६ हजार ३३८ वटा आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गरिएकामा ५१ वटा खान नहुने विषादी भेटिएको जनाएको छ । जब कि विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएका तरकारी तथा फलफूल मात्रै खानयोग्य मानिन्छ । 

विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत देखियो भने केही दिन पर्खेर पुनः परीक्षण गर्दा त्यो दर घटेर ३५ भन्दा कम भएमा खान सकिन्छ । यस्तै विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएको तरकारी तथा फलफूलले जनस्थास्थ्यमा असर गर्ने हुनाले खान अयोग्य मानिन्छ । 

विभागका अनुसार परीक्षण गरेर खान अयोग्य मानिएका तरकारीमा विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा रहेको थियो । विषादी परीक्षणमा प्रतिकूल देखिएकामध्ये जुनार, केरा, चुकन्दर, चुक तथा आलुलगायतका तरकारी र फलफूल भएको विभागले जनाएको छ । विभागका महानिर्देशक जोशीले आयातित वस्तुको नमुना भन्सारबाट लिएर परीक्षण गर्दा प्रतिकूल देखिएपछि नष्ट गर्न दिएका रिपोर्टअनुसार नष्ट गरे वा नगरेबारेमा आफूहरूलाई जानकारी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारले दिएको नमुना परीक्षण गरेर भन्सारमै बुुझाउँछौँ, प्रतिकूल भनेर दिएको रिपोर्टअनुसार भन्सारले नष्ट गर्छ वा गर्दैन हामीलाई थाहा हुँदैन, नष्ट गर्ने अधिकार कानुनले हामीलाई दिएको छैन ।” 

प्रतिबन्धित कार्बाइड 

विभागले काँचा फलफूल (केरा, आँप, मेवा)लगायतलाई पकाउन प्रतिबन्धित कार्बाइड (एसिटिलिन ग्यास) भए वा नभएको अनुगमन विषयमा ११८ वटामा अनुगमन गरेको नेपालगञ्जको एउटा पसलमा उक्त प्रतिबन्धित कार्बाइड भेटिएको थियो । काँचा फलफूल पकाउन उपत्यकामा व्यापक प्रयोग भएको भन्ने गुनासोका आधारमा अनुगमन गर्दा प्रतिबन्धित कार्बाइडको प्रयोग भएको नपाइएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा इथालिन रिपिनर प्रयोग भएको पाइएको थियो भने केही ठाउँमा इथालिन लिक्युड र इथालिन चेम्बरको प्रयोग भएको पाइएको विभागले जनाएको छ ।