• १३ साउन २०८१, आइतबार

सर्पको उद्धार सँगै क्यान्सर पीडितलाई सहयोग गर्दै ‘सारु कान्छा’

blog

रुपन्देहीको सैनामैनाबाट सर्प उद्धार गर्दै चेतबहादुर सारु । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, साउन २३ गते । अहिले वर्षाको मौसम छ । यही बेला विषालु सर्पको विगविगी बढेको छ । गाउँघरमा विषालु सर्प देख्ने वित्तिकै मानिसहरु डराउने अवस्था छ । सर्प देख्ने बित्तिकै डराउनेहरुका लागि रुपन्देहीको सैनामैना १० झिमझिमियाका चेतहादुर सारु प्रिय बन्नुभएको छ । 

सर्प उद्धारकर्ताको रुपमा आफ्नो परिचय बनाउनुभएका सारुलाई गाउँघरमा ‘सारु कान्छा’ भनेर धेरैले चिन्छन । उहाँको अर्को परिचय समाजसेवीको हो । सर्प उद्धार गरेर जम्मा भएको पैसा उनी क्यान्सर पीडितहरुको लागि सहयोग गर्नुहुन्छ । 

अहिले दैनिकजसो पानी परिरहेकोले सर्पको विगविगी बढेको बेला चेतहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि बरदान नै सावित हुनुभएको छ । कसैले फोन गरेर बोलाईहाले उहाँ सर्प उद्धार गर्न पुगिहाल्नु हुन्छ । 

गाउँघरमा कतै सर्प देखिहाले स्थानीयले चेतहादुरलाई सम्झिहाल्छन । सर्प उद्धार गरेर कसैले खुसीले सहयोग पनि दिन्छन । त्यही सहयोगबाट आएको त्यो पैसा चेतहादुरले दुई महिना अघि कपिलवस्तु पुगेर क्यान्सर पीडित आठ बर्षीय बालकको लागि उपचारका लागि सहयोग दिनुभयो ।

उहाँले सर्प उद्धार गरेर संकलन भएको पैसा मात्रै दिनुहुन्न त्यसमा आफूले थपेर पनि सहयोग गर्दै आउनु भएको छ । नाग पञ्चमीका दिन नाग दर्शन गराएर संकलन भएको १८ हजार रुपियाँ चेतबहादुरले सैनामैना नगरपालिका १० भच्कैयाकी ४४ बर्षीया स्तन क्यान्सर पीडित सुमित्रा पेग्नी मगरलाई सहयोग दिनुभयो । 

चेतहादुर सर्प उद्धारका लागि बुटवल पश्चिमको क्षेत्रमा मात्रै पनि सीमित हुनुहुन्न । कसैले बोलाए बाहिरी जिल्लामा पनि पुग्नु हुन्छ । केही दिन अघि साउनको ४ गते अजिङ्गर सर्प उद्धार गर्न उहाँ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ तिखेचुलीसम्म पुग्नुभयो । चेतहादुर केवल सर्प उद्धार मात्रै गर्नुहुन्न । सर्पबाट बच्ने तरिका, सर्पको प्रकृति संरक्षणमा योगदान तथा विषालु र बिषालु नभएका सर्पको बारेमा पनि जनतालाई सचेत बनाउने काम गर्दै आउनु भएको छ । 

अहिले चेतहादुरलाई रात दिन नभनी फोन आउँछ । घरमा सर्प पसेकोले उद्धार गर्न आउनु प¥यो भन्ने फोन धेरै आउँछ । दिनमा मात्रै होइन रातीको १२ बजेपनि फोन आएपछि उहाँ उठेर उद्धारका लागि हिँडनुहुन्छ । 

उहाँ भन्नुहुन्छ–‘जोखिम बढी हुने भएकोले धेरैले यो काम छोडिदे भन्नुहुन्छ तर मेरो मनले मान्दैन । कमसेकम एकातिर सर्पको उद्धार पनि गरिरहेको छ र अर्कोतीर त्यसबाट आउने धेरथोर पैसाले क्यान्सर पीडितहरुको लागि सहयोग पनि गरिरहेको छु ।’ 

सर्प समात्नु निश्चिय नै जीवनमाथिको ठूलो खेलवाड हो,  सर्पले टोकी हाले ज्यानै जानसक्छ तर मेरो सानो सहयोगले अरुको भलाई हुन्छ भने म जोखिम लिन तयार छु, चेतहादुर भन्नुहुन्छ–‘आखिर हवाईजहाज चलाउने पाईलटले पनि त जोखिम मोलेरै काम गरिरहेका हुन्छन् । जहाँबाट सर्प उद्धार गरिन्छ त्यही नजिकको बनमा लगेर सर्पलाई छाड्ने गरिएको छ ।’