• ८ जेठ २०८१, मङ्गलबार

बादलको रूख (कविता)

blog

केशवराज अधिकारी 


नीलो नीलो आकाशमा 

बादलको रुख ।

त्यही रुखमा हेर साथी 

हात्तीजस्तो रूप । 


सुँढ पनि लामो लामो

ठूला ठूला कान ।

डल्ले डल्ले भुँडी ठूलो

लम्किँदै छ खान । 


हैन हैन छैन त्यस्तो

म त देख्छु भिन्नै ।

बाँदर हो जस्तो लाग्छ

सकेनौ कि चिन्नै ? 


पुच्छर छ लामो लामो

उफ्रनलाई ठिक्क ।

तिम्रो कुरा सुन्दा सुन्दै

लागिसक्यो दिक्क । 


फेरि हेर्दा आकाशमा

बादलको रुख ।

त्यो रुख त फेरिएछ

अर्कै अर्कै रूप । 

दुई साथी गर्दै थिए

बात ढेलफेल ।

न बाँदर न छ हात्ती 

समयको खेल ।