उनी सौम्य लाग्छन्, कम बोल्छन् र जो कसैलाई देख्दा मुसुक्क हाँस्छन्। यो उनको स्कुलिङ हो। उनी अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ। १४ वर्षदेखि नेपाली सेनामा रहेर उनले सिकेको सबैभन्दा ठूलो शिक्षा नै अनुशासन हो र त्यही अनुशासित खेलाडीको नाताले उनी कप्तान भएका हुन्।
यो पद आफैँमा चुनौतीपूर्ण हो। आफू राम्रो खेल्नु त छँदैछ सिङ्गो टिम मिलाएर अगाडि बढ्नु कम चानचुने हैन। नवयुग भन्छन्, “सबै कुरा अपर्चुनिटी हो। अखिल नेपाल फुटबल सङ्घले बनायो खुसी लाग्छ।”
उनलाई कप्तान बनुँला भन्ने कहिल्यै लागेको थिएन। उनी भन्छन्, “कप्तान हुन्छु भनेर त सोचेको थिइनँ। जिम्मेवारी पाएपछि खुसीसँगै चुनौती पनि थपियो। एन्फाले लिड गर्न सक्छ भनेर विश्वास गर्नु नै ठूलो कुरा हो। एसियाली छनोटमा खेल्न पाउनु अविस्मरणीय हो।”
उनी विगत सम्झँदै भन्छन्, “स्कुल लेभलबाट खेल्दा नेसनल लेभलबाट खेल्छु भन्ने थियो, खेलियो तर कप्तान हुन्छु भनेर त सोचेको थिइनँ।”
२०४७ साल जेठ २५ गते इलाममा जन्मिएका नवयुगमा बालक छँदादेखि नै फुटबल खेल्ने जोश थियो। त्यो जोश उनले प्लास्टिकको बल खेलेर पूरा गर्थे, साथीहरूसँग रमाउँथे।
उनी पुराना याद ताजा गर्दै भन्छन्, “बाल्यकालमा प्लास्टिकको बल खेल्थ्यौँ। सुरु सुरुमा त कपडाको खेलियो। प्लास्टिक पोको पारेर मोजाभित्र राखेर पनि खेलियो। मिडिल क्लासमा त्यस्तै त हो नि।” उनको परिवारमा उनी, बहिनी र बाबुआमा मात्रै छन्, उनका बुबा सेवानिवृत्त शिक्षक।
उनले दुईवटा विद्यालयमा मात्रै पढे। पहिले इलामको मङ्गलबारेमा रहेको सनसाइज एकेडेमी। जहाँ उनले पाँच कक्षासम्म पढे। त्यसपछि उनले भानुभक्त उच्च माविमा पढे। स्कुलमा भने उनको छनोट रमाइलो हुन्थ्यो। उनी भन्छन्, “एउटा काठको स्केल हुन्थ्यो। अनि उभिन लगाइन्थ्यो। चार फिट १० इन्च हाइट नापेर त्योभन्दा मुनिकोलाई मात्र खेल्न दिइन्थ्यो। त्यही टाइममै जुनियर लेभलको खेलियो।”
पहिलो स्कुलमा उनले आफ्नै स्कुलभित्र मात्रै खेले। दोस्रो स्कुलमा पुगेपछि उनले जिल्लामा यू–१४ छनोट खेले २०६० सालमा, त्यसमा उनी छानिए। त्यति मात्र हैन उनको जिल्ला पनि छानियो। १४ वर्षमुनिको उक्त जिल्ला विकास समिति (जिविस) कप खेल्न उनी काठमाडौँ आए। उनको पहिलो सहभागितामै चर्चा भयो।
उनको जिल्लाले उपाधि जित्यो। २०६१ सालमा पनि उनी काठमाडौँ आए इलामको टिमसँग। त्यो वर्षको उपाधि पनि इलामले जित्यो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो प्रतियोगिता जितेपछि इलामको वाहीवाही भयो। नवयुगसहितका खेलाडीहरू पनि उत्साही भए।
स्कुल लेभलमा पढ्दा उनी त्रिवेणी युथ क्लबको सदस्य भएका थिए। त्यो क्लब नै उनको सफल फुटबल जीवनको आधार हो। उनी सम्झँदै भन्छन्, “त्रिवेणी युथ क्लबबाट म खेल्थेँ। गाविसस्तरीय प्रतियोगिता खेल्थेँ। मेरो जुनियर लेभलको प्लाटफर्म हो त्यो क्लब। इलामको सक्रिय क्लब नै हो। मलाई त्यसको उत्पादन भन्न मिल्छ।”
उनी लगातार दोस्रो पटक यू–१४ को जिविस कप जितेपछि इलाम फर्केर पढाइतिरै लागे, एसएलसी दिए। प्लस टु भानुभक्तमै भर्ना हुने बेलामा यू–१६ छनोट हुन्छ भनेर उनी काठमाडौँ आए तर छनोट हुन सकेन। नवयुग सम्झिँदै भन्छन्, “प्रोग्राम नै क्यान्सिल भयो। डेढ महिना एपीएफमा ट्रेनिङ लिएँ। त्ससपछि हिमालयन शेर्पा क्लबमा ‘बी’ डिजिभन खेल्यौँ। पहिलो पटकमै ‘ए’ डिभिजनमा क्वालिफाइ गरायौँ।”
२०१५ मा भारतविरुद्ध पुनेमा मैले पहिलो खेल खेलेँ । मैले राम्रो खेलेँ । खेल ०–० को बराबरी भयो ।
उनी सुरक्षित फुटबल खेल्न चाहन्थे। त्यसैले पनि धेरैको सल्लाहमा नेपाली सेनामा भर्ती हुन धनकुटा गए। बच्चादेखि सेनामा जाने इच्छा पनि थियो उनको। २०६५ सालमा उनी सेनामा भर्ना भए।
सेनाको नौ महिने तालिम सकिएपछि आर्मी क्लबमा उनलाई बोलाइयो। उनी सम्झन्छन्, “आर्मीमा बोलाइयो गएँ। डम्बरसिंह गुरुङ प्रशिक्षकले छान्नुभयो। पहिलो पटक पोखरामा खेलेँ। त्यो बेला मैले मिडफिल्डबाट खेलेँ। सन्तोष नेपाली शान्ति सेनामा गएकाले त्यही ठाउँमा मलाई लिइएको थियो। त्यसपछि राजु तामाङ पनि शान्ति सेनामा जानुभयो। फेरि पनि उहाँकै ठाउँमा मिडफिल्ड खेलेँ। दुई वर्षपछि स्ट्राइकर खेलेँ।”
सात वर्षअघि सन् २०१५ मा उनले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए। उनी सम्झन्छन्, “२०१५ मा भारतविरुद्ध पुनेमा मैले पहिलो खेल खेलेँ। मैले राम्रो खेलेँ। खेल ०–० को बराबरी भयो।”
अर्को वर्ष भने उनको सबैभन्दा स्मरणीय रह्यो। सन् २०१६ मा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेँ। भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलको स्वर्ण पदक जित्दा उनी सर्वाधिक गोलकर्ता बनेका थिए। नवयुगले सर्वाधिक सात गोल गरे र उनी नै उत्कृष्ट खेलाडी घोषित भए।
नेपालले सन् २०१६ मा मलेसियामा भएको सोलिडारिटी कप पनि जितेको थियो। सो कपमा नवयुगले ब्रुनाईविरुद्ध समूह चरणमा गोल गरेका थिए। नवयुगले राष्ट्रिय टिमबाट औपचारिक खेलमा अहिलेसम्म सात गोल गरिसकेका छन्। आर्मी क्लबबाट गरेको गोलको हिसाब उनीसँग छैन।
गत असारमा उनी अमेरिका गएर आए। ‘नेप्लिज अमेरिकन कन्भेन्सन’ एनएसीमा उनी र आर्मी क्लबकै भरत खवास गएर आएका थिए। उनले खुसी हुँदै भने, “यो पाँचौँ पटक भएको हो। हामी यसका ब्रान्ड एम्बेस्डर हौँ।”
नवयुग नियमित प्रशिक्षण गर्छन्। छुट्टीको बेलामा उनले व्यायाममा ध्यान दिन्छन् र ब्याडमिन्टन खेल्छन्। अभ्यास छुट्यो भने उनलाई तनाव हुन्छ। उनी भन्छन्, “दुई दिन व्यायाम नगरे मोटाइन्छ कि भन्ने डर हुन्छ। घरमा १५–२० दिन बस्दा पनि डर लाग्ने। कोभिड कालमा पनि डर लाग्यो घरमा बस्दा तर अभ्यास गर्न कहिल्यै छुटाइनँ।”
फुटबलमा लागेपछि उनको जीवनको अविस्मरणीय क्षण पनि छ। उनी दुईवटा कुरालाई महìवपूर्ण मान्छन्। उनी भन्छन्, “पहिलो कुरा त भारतविरुद्ध सन् २०१६ मा फाइनलमा मैले गरेको विजयी गोल नै अविस्मरणीय हो। त्यसपछि टिम क्याप्टेन हुँदा खुसी भएको छु।”