• ७ जेठ २०८१, सोमबार

रोजगारीको सुनिश्चित हुनुपर्ने अस्पतालका कर्मचारीको माग

blog

जिल्ला अस्पताल लमजुङका कर्मचारीहरुद्धारा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यलाई ज्ञापन पत्र बुझाउँदै । तस्बिरः बेलिना थापा

लमजुङ, साउन २१ गते । जिल्ला अस्पताल लमजुङका कर्मचारीहरुले अस्पतालमा कार्यरत सवै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चिताका लागि माग गरेका हुन् । कर्मचारीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरामा मुख्यमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखरामा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै रोजगारी सुनिश्चितताको माग गरेका हुन् ।

गण्डकी प्रदेश सरकार र मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) बीच सम्झौता भएर सञ्चालन भइरहेकोमा गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालन अवधि हुँदाहुँदै पनि एक पक्षीय तवरले सम्झौता भंग गर्ने परिपत्र गरेको भन्दै उनीहरुले आफ्ना माग राखेका हुन् । परिपत्रले अस्पताल सञ्चालन गर्दै आएको संस्था र कार्यरत कर्मचारीहरुलाई आत्मबल गिराउने गरि कदम चालिएको प्रति गम्भीर ध्यानाकार्षण भएको कर्मचारीहरुले बताएका छन् ।

अस्पतालका इमरजन्सी ओपडी इन्चार्ज गणेश गुरुङका अनुसार सम्पूर्ण कर्मचारीहरुको तर्फबाट प्रजिअलाई ज्ञापन पत्र बुझाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सरकारको साउन १८ गते अस्पताल सञ्चालन सम्झौता भंग गर्नका लागि प्रस्ताव (सूचना) निकालेको छ । अस्पताल सञ्चालनका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार, मानव विकास सामुदायिक सेवाबीच ५ बर्षका लागि २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो । सम्झौता अवधी हुँदा हुँदै पनि विविध कारण देखाई २०७९ साउन १६ गतेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकद्धारा ३ महिनाको म्याद राखी सम्झौता भंग गरिएको भन्ने पत्र प्राप्त भएपछि कर्मचारीहरुले आफ्ना रोजीरोटीको माग गरेका हुन् ।

ज्ञापन पत्रमा जिल्ला अस्पताल लमजुङमा कार्यरत कर्मचारीहरुको व्यवस्थाका बारेमा कुनैपनि ब्यहोरा उल्लेख नगरिएकोले यसबारेमा यथाशीघ्र (एकसाताभित्र) लिखित पत्रका साथ कर्मचारीको मागलाई सम्बोधन गर्न माग गरिएको छ । सम्झौताको अवधी छँदाछँदै पनि दुवै पक्षीय सहमति विना निर्णय भएको र परिपत्र गरिएकोमा कर्मचारीहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पताल विकास समिति गठन गरी उक्त समितिमार्फत स्थायी गराउनुपर्ने, अहिलेसम्म खाईपाई आएको सेवा सुविधा कायम हुनुपर्ने, कर्मचारीको घर विदा र विरामी विदा १८० दिन सञ्चित गर्न पाउनुपर्ने, अवकासको बेला भुक्तानी गर्नुेपर्ने माग गरेको गणेश गुरुङले बताउनुभयो ।

उनीहरुले स्वइच्छाले अवकास तथा उमेर हद नाघेमा उपदानको व्यवस्था हुनुपर्ने, स्थानीय जनताले अहिले पाइरहेको गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ सेवाको सुनिश्चित हुनुका साथै थप विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । हाल अस्पतालले विरामीलाई प्रदान गर्दै आएको सेवाहरु नघटाउन उनीहरुको माग छ । माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी कर्मचारीहरुले दिएका छन् । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले शुक्रबार नै उक्त ज्ञापन पत्र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयको कार्यालयमा पठाएको बताउनुभयो । 

हाल ६० शैय्यामा संचालन हुँदै आएको उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले ५० शैय्याको बनाएर संचालन गर्ने र हालसम्मको सम्झौता खारेजसहितको पत्र एचडीसीएसलाई पठाएको अस्पतालले जनाएको छ ।