• ४ जेठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १९ गते । आदिवासी जनजाति संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

महासंघको संघीय कार्यालय भीमसेनगोलामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस वर्ष पनि विगतका वर्षहरुजस्तै विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्म आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित् हुन नसकेको भन्दै सप्ताहव्यापी कार्यक्रममा पनि अधिकार सुनिश्चित्ताका लागि राज्यलाई दबाब दिइने बताउनुभयो ।

अध्यक्ष शेर्पाले भन्नुभयो, ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले सप्ताहव्यापी कार्यक्रम मार्फत हाम्रा माग राज्यलाई सुनाउने छौं ।’

दिवसको अवसरमा मूल समारोहको रुपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्ने जनाएको छ । सो कार्यक्रमको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । 

दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाको अगुवाइमा विभिन्न कार्यक्रम तय भएको अध्यक्ष शेर्पाले बताउनुभयो । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघले साउन २० गते नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रर्दशनी तथा विषेश सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ ।

त्यस्तै, राष्ट्रिय आदिवासी जनजति महिला महासंघले साउन २१ गते काठमाडौंमा ‘आदिवासी जनजाति ज्ञानको संरक्षण र पुुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।  

सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्ने भएको छ । विश्वभरका आदिवासीहरुले हरेक वर्षको अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् ।