• ५ साउन २०८१, शनिबार

समानुपातिकको मतपत्र छपाइ पहिला, प्रचारप्रसारका लागि एक महिना

blog

काठमाडौं, साउन १९ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटिसकेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि १०७ दिनको समय रहेको जानकारी दिनुभयो ।

बिहीबार नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ मङ्सिर ४ गते गर्ने निर्णय गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन मिति घोषणासँगै आयोग चुनावको तयारीमा जुटिसकेको जानकारी दिनुभयो ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले पहिला समानुपातिकको मतपत्र छपाइ गर्ने भएको छ ।

सहायक प्रवक्ता अर्यालले दल दर्ताको अन्तिम नामावली सार्वजनिक भएपछि समानुपातिकको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँले समानुपातिकको मतपत्र आठ प्रकारको हुने भएकाले पहिलो चरणमा छपाइ हुने बताउनुभयो ।

‘‘प्रतिनिधिसभाका लागि एउटा र सात वटै प्रदेशका लागि छुट्टाछुट्टै मतपत्र हुन्छ । समानुपातिकको मतपत्र छपाइ कार्यसँगै प्रतिनिधि र प्रदेशसभाका सांसदको मनोनयन दर्ता गरिन्छ,’’ उहाँले भन्नुभयो । 

सहायक प्रवक्ता अर्यालले प्रक्रिया पुर्‍याएर चुनाव चिह्न दिइसकेपछि प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छपाइ कार्य सुरु हुन्छ । साथै निर्वाचन प्रचारप्रसारका लागि एक महिनाको समय दिइने निर्वाचन आयोगले जनाएको छ ।