• २४ साउन २०७९, मङ्गलबार

मौलिक बाजामा महिलाको बढ्दो सहभागिता

blog

काठमाडौँ, साउन १९ गते । उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मौलिक वाद्यवादन बजाएर बौद्ध चैत्यको परिक्रमा गर्ने गुँला पर्वमा महिलाको सहभागिता बढ्दो छ। 

गुँला पर्वका अवसरमा परम्परागत बाजागाजा बजाएर महिलाले बौद्ध चैत्यको परिक्रमा गरिरहेको थप रौनकको विषय बनेको छ। मौलिक वाद्यवादनलाई लोप हुन नदिन युवा वर्गसँगै महिलालाई पनि शिक्षा दिनुपर्ने मान्यताका साथ महिलाले गुँला पर्वमा बाँसुरी, धाः बजाएर चैत्यहरू परिक्रमा गरिरहेका छन्। विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको पर्वमा बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका संस्कृतिविद् डा.चुन्डा बज्राचार्यले बताउनुभयो। उहाँले बिहान सबेरै बाजा बजाउँदै चैत्य विहारमा महिला देख्दा मनमा उल्लास छाएको बताउनुभयो। 


“कुनै समय थियो, धाः बाजं महिलाले बजाउने त कता हो कता, छुन पनि हुन्न भनिन्थ्यो। अचेल यी दिन फेरिएका छ,” उहाँले भन्नुभयो। महिला धाः बाजं बजाउँदै स्वयम्भूमा देखिन्छ। “केहीलाई यो सामान्य लाग्न सक्छ तर हाम्रो लागि यो ठूलो उपलब्धि हो, महिलाले पनि अब धाः बाजं बजाउने भए, अझ बुहारी पुस्ताले,” त्यही समूहकी सदस्य सजिना मानन्धरले भन्नुभयो। 

“महिलाले धाः बाजं बजाउन सुरु गरेको एक दशकजति भइसकेको छतर कतिपय महिला दिदी–बहिनी कामका कारण बाजा सिक्न चाहँदैनन्,” मानन्धर थप्नुहुन्छ, “महिलाले बाजा छुनुहुन्न भन्ने धारणा अहिले कायम नै छ। यो गलत हो, हाम्रो संस्कृतिको संरक्षण हामीबाट हुनुपर्छ त्यसैले मैले बाजा बजाउन थालेको हो।” पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।

यस्तै रश्मि डङ्गोलले धिमे बाजा, बाँसुरी, धाः बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ। “आफ्नो मौलिक बाजा बजाउन गर्व लाग्छ,” उहाँले भन्नुभयो, “हाम्रो देशको पहिचान भनेको यही संस्कृति र मौलिक पहिरन, वाद्यवादन हो यसको संरक्षण गर्न सबै अघि बढ्नुपर्छ।” झरीले रोगव्याधीलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ। 

ठमेलमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका प्रदर्शन गरिने गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध तथा बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ। यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ।  नेपाल संवत्को नवौँ महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो। साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व बौद्ध धर्मावलम्बीका लागि विशेष रहने गर्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना हुने गर्छ। यो महिनामा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप बढी हुने हुनाले पनि त्यसो नहोस् भन्ने कामना गरेर गुँलाः पर्व मनाइन्छ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ। यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिक स्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ। यस अवसरमा काठमाडौँ उपत्यका विभिन्नथरी बाजाले गुञ्जायमान हुने गर्छ।