• ५ असार २०८१, बुधबार

धार परिवर्तन नै मुख्य समस्या

blog

उदयपुरको बेलकामा सप्तकोसीले धार परिवर्तन गरी जग्गा कटान गर्दै । तस्बिर : गोरखापत्र

काठमाडौँ, साउन १९ गते । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।

मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, “नारायणीको ठूलै भँगालो पसेपछि बस्तीपट्टि नआओस् भनेर चारवटा स्पर तत्काल निर्माण गरियो र नारायणीलाई रोकियो।” पोहोर बस्ती छिर्न खोजेकाले यसपालि पनि त्यो क्षेत्रमा सम्भावित बहाव परिवर्तन हुनसक्ने भएकाले निगरानी बढाइएको उहाँले बताउनुभयो। 

नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। नेपाल–भारत गण्डक बाँधपछिको पश्चिम क्षेत्रमा नारायणीले बारम्बार धार परिवर्तन गरेर नेपाली भूभागमा प्रवेश गर्ने क्रम निरन्तर छ। नदी छेक्न बनाइएको स्परको मर्मतसम्भार समयमा नहुँदा स्थानीयवासीको घरबारसँगै खेतबाली नष्ट हुने गरेको गुनासो बढ्दो छ।

गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे। यस वर्ष पनि ती क्षेत्र जलमग्न छन्। पश्चिम र सुदूरपश्चिम नेपालको कर्णाली र महाकालीको बहाव परिवर्तनले पनि बारम्बार बाढी, डुबानजस्ता विपत्को समस्या बढाएको छ। महाकाली नदी बीच पारेर नेपालको दार्चुलाको पारिपट्टि भारतको धार्चुलामा यतिखेर बाँध निर्माण भइरहेको छ। त्यसको असर महाकालीको बहावमा गत वर्षदेखि नै पर्न सुरु गरेको छ। 

गत वर्षको वर्षामा महाकाली सदरमुकाम पसेपछि हाहाकार मच्चिएको थियो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भन्नुभयो, “तत्काल बाँध बाँधेर सहर जोगाइयो, तर उता पनि बाँध बाँधेपछि बहाव बढ्दा नदीको धार कता जान्छ भन्ने पिरलो उत्तिकै छ।” 

सदरमुकाम जोगाउनकै लागि चार किलोमिटर बाँध कोरिडोरका रूपमा निर्माण गरिएको छ। महाकालीको बहाव व्यवस्थित नहुँदा दोधारा–चाँदनी क्षेत्र हरेक वर्ष डुबानमा पर्छ। कर्णालीले टीकापुर क्षेत्र जहिल्यै डुबाउने गरेको छ।

कारक मानवीय र प्राकृतिक

नेपालमा छ हजारभन्दा बढी नदी र खोला उत्तरबाट दक्षिणतर्फ बग्छन्। तीमध्ये कोसी, नारायणी, कर्णाली र महाकालीजस्ता हिम उद्गमस्थल भएका नदी बाह्रै महिना बग्छन्। मनसुनको समयमा यी नदीको बहाव बढ्ने र परिवर्तन हुँदा नदी तटीय क्षेत्रमा बाढी र डुबानले क्षति पु-याउने गरेको छ।

नेपालको तिनाउ तटीय क्षेत्रमा सन् १९७८, कोसी नदी तटीय क्षेत्रमा १९८०, ताडी नदी तटीय क्षेत्रमा १९८५, सुनकोसी तटीय क्षेत्रमा १९८७ र कुलेखानी क्षेत्रमा १९९३ मा ठूलो बाढी आएको मन्त्रालयले उल्लेख गरेको छ। यसरी नदीले बहाव परिवर्तन गर्नुमा कतिपय अवस्थामा प्राकृतिक कारण र कतिपय मानवीय कारण जिम्मेवार रहेको सिँचाइ विभागका उपमहानिर्देशक सञ्जीव बराल बताउनुहुन्छ। उहाँले भन्नुभयो, “ठूला नदीले आफ्नो ठूलो ठाउँ खोज्छन्, त्यसमा पुराना नयाँ क्षेत्र दुवै पर्छन् अनि बहाव परिवर्तन गर्छन् । तर नदी क्षेत्रमा मानव अतिक्रमण बढेकाले नदीले आफ्नो पूर्ण ठाउँ पाउँदैन र बाढी तथा डुबानको चपेटामा मानिस पर्छन्।” 

उदयपुरमा कोसीको धार परिवर्तनले निम्त्याएको समस्या नदीले प्राकृतिक रूपमा आफ्नो पुरानो बाटो खोजेकाले उत्पन्न भएको हो। नारायणी, महाकाली, कर्णालीजस्ता ठूला नदी बारम्बार प्राकृतिक बाटोमा दोहोरिएर बग्न खोज्छन्। 

कमला, बागमतीलगायतका मध्यम तथा अन्य साना नदीमा भने जथाभावी डुङ्गा, गिट्टीजस्ता प्राकृतिक स्रोतसाधन उत्खनन गरेकाले बहाव परिवर्तन हुने गरेको छ। बरालका अनुसार चुरेपर्वतबाट बग्ने नदीहरूको बहाव बारम्बार परिवर्तन भएको पाइएको छ। कमलो भूबनोट र त्यसमाथि मानव अतिक्रमणसँगै जलवायु परिवर्तनको असरले निम्त्याएको अतिवृष्टिका कारण नदीले बहाव परिवर्तन गरिरहेको दाबी उहाँ गर्नुहुन्छ।