• १० मंसिर २०८१, सोमबार

फुरु ब्यापारबाटै दैनिक एक लाख कमाई

blog

फुरु पसलमा काम गर्दै हुम्लाकी महिला ब्यापारी । तस्बिर सौजन्य : ठोक्याल लामा

राजन रावत 

हुम्ला साउन १८ गते । कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानु भएका हुम्लावासीको फुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको पाईएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उता रोकिने ब्यापारी थोरै भएपछि फुरु ब्यापारबाट कमाई राम्रो हुने गरेको हो ।

दुई वर्षदेखि चीनको पुराङ काउण्टीको ताक्लाकोटमा फुरु ब्यापार गर्दै आउनु भएका ठोक्याल लामाले हाल दैनिक एक लाख रुपियाँको कमाई हुने गरेको बताउनुभयो । २०७६ साल जेठ महिनामा उहाँ लगायतको टोली ताक्लाकोटमा ब्यापार गर्न जानु भएको थियो । उक्तवर्ष कात्तिक महिनामै हिमपात भएको कारण हुम्ला फर्कन उहाँ लगायत १४७ जना हुम्लावासीले पाउनु भएन । 

त्यसपछि लगत्यै कोरोना कहर सुरु भएको थियो । उहाँले ताक्लाकोटबाट हुम्ला फिर्ता आउन नपाउने भएपछि फुरु ब्यापारतर्फ लागेको बताउनुभयो । ‘एउटा राम्रो खाले फुरुको मुल्य १० देखि ४० हजारसम्म पर्छ । नाका बन्द भएपनि ब्यापार राम्रो भएकोले खुशीका साथ ताक्लाकोटमा बसेका हौं । अहिले ९८ जना हुम्लाका ब्यापारीले यो ब्यापार गर्दै आएका छन्,’ लामाले भन्नुभयो । 

लामाले सबैको ब्यापार जोड्दा दैनिक डेढ करोड रुपियाँसम्म कमाई हुने गरेको पनि बताउनुभयो । उहाँले सबैको कमाई राम्रो भएको कारण सिमकोट देखि सुर्खेत र काठमाडौंमा घरघडेरीको ब्यवस्था गर्न ब्यापारी सफल भएको बताउनुभयो ।

ताक्लाकोटमा रोकिएका मध्य ४९ जनाले भने मजदुरी काम गर्दै आउनु भएको छ । दुई वर्षयता नाकाबन्द रहेकोले अन्य हुम्लावासी भने रोजगारीका लागि ताक्लाकोट जान पाएका छैनन् । नाकाबन्दी अघि वर्षमा दुई हजार हुम्लावासी ब्यापार तथा रोजगारीका लागि ताक्लाकोट जाने गर्दथे ।