• ११ वैशाख २०८१, मङ्गलबार

फर्जी मतदाता नामावली दर्ता गरेको आरोप

blog

काठमाडौँ, साउन १८ गते । नेपाली कांग्रेसले बूढानीलकण्ठ नगरपालिकाका तीनवटा वडामा फर्जी मतदाता नामावली दर्ता भएको दाबी गर्दै छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले भने निर्वाचन कार्यालय, काठमाडौँसँग सम्बन्धित रहेकाले उक्त विषयबारे छानबिन गर्न निर्देशन दिएको जनाएको छ । 

नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाका सभापति राजाराम बुढाथोकीले बसाइँसराइ नक्कली बनाएर थुप्रै व्यक्तिले काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट मतदाता नामावली दर्ता गराएको दाबी गर्नुभएको छ । उहाँले त्यस विषयमा छानबिन गर्न आयोगसमक्ष माग गरेको बताउनुभयो । चपली, महाँकाल, कपन र चुनिखेल क्षेत्रमा अस्वाभाविक रूपमा बसाइँसराइ गरेर नामावली दर्ता गराउनेको चाप बढेको उहाँले बताउनुभयो । 

बसाइँसराइ कार्डको दुुरुपयोग भएको तथा छाप पनि नक्कली बनाएर व्यक्तिले मतदाता नामावली दर्ता गराएको छानबिन माग गरेका पक्षको दाबी छ । सभापति बुढाथोकीको नेतृत्वको टोलीले सोमबार जिल्ला निर्वाचन कार्यालय, काठमाडौँअगाडि विरोध प्रदर्शनसमेत गरेको थियो । 

निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले भने मतदाता नामावली दर्ता सम्बन्धमा छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२० गतेभित्र छानबिन टुङ्ग्याउने गरी काम अगाडि बढेको छ ।” 

प्रमाण वडाध्यक्षको विज्ञप्ति

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२, कपनका वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले भने बुढाथोकीले दाबी गरेबमोजिम फर्जी कागज बनाएर मतदाता नामावली दर्ता नभएको बताउनुभयो तर गत साउन २ गते वडाध्यक्ष भट्टराई आफैँले जारी गरेको विज्ञप्तिमा वडा कार्यालयको छाप तथा वडा नं. १० मा कार्यरत वडासचिव नवीन्द्र तामाङको सही नक्कल गरी फर्जी बसाइँसराइ प्रमणपत्रहरू दुुरुपयोग भएको उल्लेख गर्नुभएको छ । 

उक्त विज्ञप्तिमा “सार्वजनिक गरिएका बसाइँसराइ दर्ता प्रमाणपत्र यस वडा कार्यालयमा दर्ता नभएका तथा देखिएका सही तथा छाप नक्कल गरी 

सरकारी सही छापको किर्ते गरेको पाइएको” उल्लेख गरिएको छ । वडा कार्यालयले किर्ते गरिएका कागजात कहीँकतै फेला परे वडालाई जानकारी गराउनसमेत आग्रह गरेको हो । 

फर्जी बसाइँसराइ प्रमाणपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता सम्बन्धमा २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनदेखि नै काठमाडौँ–४ विवादित बन्दै आएको छ । 

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले उक्त विषयको छानबिन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिरहेको जनाएको छ । विभागले उपलब्ध गराएको कार्डमा वडामा कार्यरत पञ्जिकाधिकारीले बसाइँसराइ, जन्म, विवाह र मृत्यु दर्ता गर्ने गरेका छन् ।