• ४ साउन २०८१, शुक्रबार

निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ : सांसद रावल

blog

फाइल तस्बिर

काठमाडौं, साउन १७ गते । नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आबद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिए पनि यसको खुलेआम उल्लङ्घन भइरहेको बताउनुभयो ।

उहाँले कुनै पनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानुनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलि इमानदारीका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिची, उल्लङ्घन गरी मनपरी गर्नेछु भन्ने जस्तो चरित्र देखिन थालेको बताउनुभयो ।

सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानुनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गर्नुभयो । सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लङ्घन गरेको आरोप उहाँको छ ।

विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने उहाँको भनाइ छ ।