• ८ जेठ २०८१, मङ्गलबार

विप्लव समूहका नेतालाई पक्राउ पुर्जी जारी गरेको प्रति सांसद भट्टराईको आपत्ति

blog

फाइल तस्बिर

काठमाडौं, साउन १७ गते । नेकपा (एमाले)का सांसद विशाल भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको प्रति आपत्ति जनाउनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद भट्टराईले विगतको सरकारले गरेको सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग माग गर्नुभयो ।

हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न उहाँले अनुरोध गर्नुभयो ।

तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सीके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, सांसद भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभएको छ ।

विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्नुहुँदै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गर्नुभयो ।

भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको उहाँले बताउनुभयो ।

घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनः स्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गर्नुभयो ।

यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थियो ।