• १० मंसिर २०८१, सोमबार

प्रदेश १ मा पेट्रोलियम पदार्थको बिक्री आधा घट्यो

blog

विराटनगर समाचारदाता

विराटनगर, साउन १७ गते । पूर्वी नेपालमा १० दिनयता नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको बिक्री झन्डै आधाले घटेको छ । विगतको तुलनामा आधा मात्र इन्धन बिक्री भए पनि बजारमा समस्या देखिएको निगमले जनाएको छ । दैनिक एक हजार किलोलिटर (१० लाख लिटर) डिजल माग हुने गरेकामा अहिले आधा मात्रै भइरहेको नेपाल आयल निगम, प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ । 

विगत वर्षमा पनि साउन र भदौ महिनामा इन्धनको माग अरू महिनाको तुलनामा घट्ने गरेको भए पनि यस पटक माग धेरै घटेको निगमले जनाएको हो । 

नेपालबाट भारततर्फ हुने इन्धनको तस्करी पछिल्लो समय मूल्यान्तरका कारण बन्द छ । नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा तस्करी भएर भारततर्फ जाने गरेको थियो । 

अहिले नेपालमा भन्दा भारतमा पेट्रोल छ रुपियाँ र डिजेल १९ रुपियाँ सस्तो छ । नेपालमा पेट्रोलको मूल्य १८१ रुपियाँ र डिजेलको मूल्य १७२ रुपियाँ (प्रतिलिटर) छ भने भारतमा पेट्रोलको मूल्य १७४.५६ नेपाली रुपियाँ र डिजेलको मूल्य १५३.३० रुपियाँ (प्रतिलिटर) रहेको छ ।

झापा, मोरङ, सुनसरीका दक्षिणी क्षेत्रबाट पेट्रोलियम पदार्थ चोरी निकासी हुने गरेकामा अहिले त्यो बन्दजस्तै भएकाले इन्धनको माग घटेको एक व्यवसायीले बताउनुभयो ।

अर्कोतर्फ विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको र भारतीय आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएका कारण कुनै पनि बेला निगमले मूल्य घटाउन सक्ने आशङ्काले व्यापारीले एक दिनका लागि पुग्ने इन्धन मात्र खरिद गरिरहेका छन् । इन्धन स्टकमा राख्दा नोक्सानी हुने भएकाले दैनिक बिक्रीको अनुपातमा मात्र खरिद गरेका कारण निगमको बिक्री घटेको निगमको बुझाइ छ । 

तर धेरै दिनसम्म आधा परिमाणले मात्र बजारको माग पूरा गरिरहेकाले विगतमा हुने गरेको माग तस्करी गर्नकै लागि भएको आशङ्का उब्जिएको छ । 

निगमले भने खेतीमा इन्धनको प्रयोग नभएका कारण पनि माग घटेको हुनसक्ने जनाएको छ । नेपाल आयल निगम विराटनगर डिपोबाट विगतमा दैनिक डिजेल आठ लाखदेखि १० लाख लिटर र पेट्रोल तीन लाखदेखि चार लाख लिटरको माग हुने गरेकामा अहिले करिब आधाले घटेको प्रादेशिक कार्यालय प्रमुख अशोक साहले जानकारी दिनुभयो । 

“पहिले दैनिक डिजेल आठ सयदेखि एक हजार किलोलिटर र पेट्रोल चार सयदेखि पाँच सय किलोलिटर माग हुन्थ्यो तर एक हप्तायता भने अहिले डिजेल चार सयदेखि पाँच सय किलोलिटर र पेट्रोल दुई सयदेखि २५० किलोलिटर मात्र माग भइरहेको छ,” उहाँले भन्नुभयो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले मधेश प्रदेशका दुई जिल्लासहित १२ जिल्लामा २५९ वटा आधिकारिक बिक्रेतामार्फत इन्धन आपूर्ति गर्दै आएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङमा झापाको चारआलीमा रहेको कार्यालयले पेट्रोलियम पदार्थको व्यवस्थापन गर्दै आएको छ ।