• ४ साउन २०८१, शुक्रबार

सुविधासम्पन्न बन्दै इटहरी अस्पताल

blog

सुनसरी समाचारदाता

इटहरी, साउन १७ गते । इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको इटहरी अस्पताललाई सुविधासम्पन्न बनाइने भएको छ । इटहरीमा स्तरीय अस्पताल स्थापना गर्न माग भइरहेको अवस्थामा अहिले सञ्चालनमा रहेको इटहरी अस्पताललाई नै स्रोत साधन र जनशक्ति थप गर्दै सुविधासम्पन्न बनाइने बताइएको हो । 

इटहरी अस्पतालको तेस्रो वार्षिकोत्सव कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको सुधारका लागि व्यवस्थापन पक्षमा ध्यान दिइने बताउनुभयो । प्रमुख पौडेलले गुणस्तरीय अस्पतालको अभाव झेलिरहेको इटहरीलाई सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले अस्पताल सुधारका लागि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालले पु-याउँदै आएको स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा व्यवस्थित गर्न भएको स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरिने बताउनुभएको छ । प्रमुख पौडेलले अगामी पाँच वर्षभित्र इटहरी सहरको गुरुयोजना तयारपार्ने र समृद्धिको मार्गचित्र कोर्ने सङ्कल्प रहेको जानकारी पनि दिनुभएको छ ।

अस्पताल प्रमुख डाक्टर योगेश चेम्जोङले इटहरी अस्पतालबाट पछिल्लो समय सेवा लिनेको सङ्ख्या बढ्दै गएको बताउँदै गत आर्थिक वर्षमा मात्र एक लाख दुई हजार १४५ जनाले सेवा लिएको जानकारी दिनुभयो । दुई जना विषेशज्ञ चिकित्सकसहित हाल ६२ जना कर्मचारीमार्फत अस्पतालको सेवा प्रवाह भइरहेको छ । अस्पतालले हाल २४ सै घण्टा एम्बुलेन्स, अल्ट्रासाउन्ड, भिडियो एक्स–रे, इमरजेन्सी सेवा र फार्मेसी सेवा उपलब्ध गराउँदै आएको छ ।