• ८ जेठ २०८१, मङ्गलबार

नेता बिप्लबसहितका नेता कार्यकर्ताविरुद्ध पक्राउपूर्जी जारी

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । अदालतले सोमबार हातहतियार तथा खरखजाना मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध मुद्दा, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेको भन्दै ३५ दिने पक्राउपुर्जी जारी गरेको हो । 

“तपसिलका मुद्दामा जारी भएका म्याद बेपत्ते तामेल भइआएको हुँदा २०७९ साउन ६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को (१३) अनुसार ३५ दिने पक्राउपुर्जी प्रकाशित गरिएको छ” अदालतद्वारा जारी पक्राउपुर्जीमा भनिएको छ । 

अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउनेलगायत २४ जना नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । 

पक्राउपुर्जी जारी हुनेमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा विश्वकर्मा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहनबहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाका उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर, कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णुप्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपाली रहेका छन् । 

जिल्ला अदालत ललितपुरले ३५ दिनभित्र अदालतमा उपस्थित हुन उनीहरुलाई अनुरोध गरेको छ । उपस्थित नहुनेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम कारवाही हुने चेतावनी पक्राउपुर्जीमा दिइएको छ ।

सरकार र विप्लवबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सहमतिमा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्न माग गरिएको थियो ।  

सहमतिसँगै नेकपा र सो पार्टीका नेताहरु खुला राजनीतिमा आएका थिए । त्यसअघि सो समूह हत्या हिंसामा लागेको भन्दै सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

पार्टीको धारणा सार्वजनिक

यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेता, कर्याकर्ताविरुद्ध पक्राउपूर्जी जारीप्रति पार्टीको धारणा सार्वज्निक गरेको छ । ललितपुर जिल्ला अदालतले सोमबार चन्दसहित विभिन्न नेताहरुलाई सरकारसँग विगतमा भएका सम्झौता विपरीत काम गरेको भन्दै पक्राउ पूर्जी जारी गरेको थियो । 

प्रवक्ता विश्वकर्माले आज दिउँसो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देश र जनताका समस्याविरुद्ध पार्टीले संघर्ष गरेको जनाएको छ । यसअघि सरकारसँग भएका तीन बुँदे सहमति उल्लंघन भएको विज्ञप्तिमा सो दलले उल्लेख गरेको छ ।