• ४ साउन २०८१, शुक्रबार

राना समुदायमा मनाइयो तीज पर्व

blog

धनगढी समाचारदाता

धनगढी, साउन १६ गते । धनगढी गाउँमा आइतबार बिहानैदेखि नुहाइधुवाइ गरेर मौलिक परिकार पकाउनमा महिला व्यस्त थिए । पुरुष पनि घरधन्दामै मस्त, बालबालिका रमाइरहेका थिए । धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ राना थारू समुदायको सबैभन्दा पुरानो बस्ती हो । सोही गाउँमा आइतबार धूमधामसँग तीज पर्व मनाएका छन् । यद्यपि हिन्दु महिलाले मनाउने तीज पर्वचाहिँ यो होइन । कैलाली, कञ्चनपुरका राना थारू समुदायले आइतबार तीज पर्व मनाएका छन् । तीज यो समुदायको सबैभन्दा ठूलो पर्व हो । 

स्थानीय सुन्दरीदेवी रानाका अनुसार तीजमा विवाहित र अविवाहित दिदीबहिनीले आफ्ना दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गरेका छन् । विवाह भइसकेका दिदीबहिनी सम्भव भएसम्म माइतमै गएर दाजुभाइ, भतिजाका लागि व्रत बस्ने चलन छ । उहाँले भन्नुभयो, “सम्भव नभएमा आफू भएकै ठाउँमा पनि व्रत बस्न सकिन्छ ।”

यो पर्वमा विवाहित दिदीबहिनीलाई माइत आउनका लागि पर्व आउनुपूर्व नै माइतीपक्षले लिन जाने चलन छ ।  लिन नगएमा विवाहिताले दुःख व्यक्त गर्ने बताइन्छ । माइतीपक्ष लिन गएपछि आफू माइतमा आएर दाजुभाइको दीर्घ जीवनमा लागि निराहार व्रत बसेको सीमा रानाले बताउनुभयो । धनगढी गाउँमा माइती रहेकी उहाँले कैलालीकै गेटामा विवाह गर्नुभएको छ । तीजका लागि बिहानै माइती आएको सीमाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दाजुभाइका लागि व्रत बस्न माइत आएकी हुँ ।”

बिहानैदेखि निराहार व्रत बस्नुुभएकी सीमालाई मौलिक खानाको परिकार तयार पार्न भ्याइनभ्याई थियो । व्रतालुले दिनभरि पुरी, सिमही, गुलगुला, पकौडा, कट्रालगायतका मीठा–मीठा परिकार पकाउने गरेका छन् । ती सबै परिकारसहित मुरिया (सावनको डोला बाँध्न प्रयोग भएको डोरी) र झुरकी (घाँसबाट बनाइएको गुडिया) व्रतालुले नदीमा सेलाउने चलन छ । चाँदीको पैसा हातमा लिएर नदीको बीच धारमा मुरिया र झुरकी सेलाउने गरिएको राना थारू समुदायको भनाइ छ । 

‘चलो जा री झुरकी, गुड्डागुड्डी हमर ददा, भैयनकी उमर बढा (जा झुरकी गैजा, हाम्रो दाजुभाइको आयु बढाउनू) भन्दै सेलाउने गर्छौं’, सुन्दरीदेवीले भन्नुभयो, “सेलाएको वस्तु जति टाढा जान्छ, त्यति नै हाम्रो दाजुभाइको आयु लामो हुने विश्वास गर्छौं ।” सकेसम्म धेरै टाढा जाओस् भनेर नै नदीको बीच धारमा झुरकी, गुड्डागुड्डी सेलाउने गरेको उहाँले बताउनुभयो । 

दिदीबिहीनी दीर्घायुको कामना गर्दै व्रत बसेपछि दाजुभाइ पनि खुसी हुने गरेका छन् । उनीहरूले आ–आफ्ना दिदीबहिनीलाई आशिर्वाद दिनुका साथै सक्नेले रुपियाँ, चुरा, कपडालगायतका चिज उपहार दिने गरेको जनाइएको छ । तीज पर्व दिदीबहिनीले विशुद्ध रूपमा आफ्ना दाजुभाइ, भतिजाको दीर्घायुका लागि व्रत बसेर मनाउने पर्व रहेको दिनदयाल रानाको बुझाइ छ । व्रतालुले नदीमा पूजाको सामग्री सेलाइ फर्केपछि परिकारहरू खाने, खुसी साटासाट गर्ने चलन छ । यसैगरी, रमाउँदै ‘सावनको डोला’ (पिङ) खेल्ने चलन छ । गीत गाउँदै व्रतालु महिला डोलामा रमाउने गरेका छन् । चार खाबामा काठको ‘फ्ल्याक’ बाँधेर बनाइएको डोलामा परम्परागत पहिरन लगाएर पिङ खेल्ने चलन छ । डोलामा रमाउने क्रममा विभिन्न किसिमको मौलिक गीत गाउने गरिएको स्थानीय तुल्सादेवी रानाले बताउनुभयो । उहाँका अनुसार अरू बेला अन्य भाकाका गीत गाइए पनि डोला उद्घाटन गरेको बेलामा यस्ता गीति शब्द गाइन्छ । 

कौन वनकी है, लालासी डाँडी

कौने वनकी है चारो खम्हा ? 

कजरी है वनकी लालासी डाँडी

वृन्दा हो वन चारो खम्हा

तीज पर्वले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ नै । यसका अतिरिक्त यो पर्वले समुदायमा मेलमिलाप, भाइचाराको सम्बन्ध पनि बढाउने गरेको धनगढी गाउँ पछ्लापट्टिका भलमन्सा सहजादे रानाले बताउनुभयो ।