• ८ वैशाख २०८१, शनिबार

सात वर्षमा पनि बनेन विद्यालय भवन

blog

नवराज श्रेष्ठ

रामेछाप, साउन १६ गते । स्थानीय सरकारलगायत सरोकारवाला निकायले ध्यान नदिँदा रामेछाप नगरपालिकास्थित कालिका ईश्वरी आधारभूत विद्यायल विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ। 

नगरपालिका तथा सरोकारवाला निकायले वास्ता नगर्दा रामेछाप नगरपालिका–३, साँघुटार बाँकीमैरीमा सात वर्षअघि निर्माण सुरु भएको सो विद्यायलको भवन निर्माण अलपत्र बनेको हो। 

विद्यालय भवन नबन्दा बालबालिका भूकम्पले भत्किएको ट्रसमा पढ्न बाध्य भएको स्थानीय अभिभावक हरिबहादुर प्रधानले बताउनुभयो। उहाँका अनुसार यो विद्यालय भवन निर्माणका लागि अहिलेसम्म भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको ३६ लाख, वडा कार्यालयको दुई पटक गरी दस लाख र स्थानीय रमेश प्रधानले सहयोगस्वरूप प्रदान गरेको ५० हजार रुपियाँ गरी ४६ लाख ५० हजार रुपियाँभन्दा बढी खर्च भइसकेको छ। 

यति धेरै रकम खर्च भइसक्दा पनि भवनको दुई तला ढलान गर्ने र तल्लो तला वरिपरिको गारो लगाउनेबाहेक काम भएको छैन, अक्षर चिन्न सुरु गरेको विद्यालय लामो समयदेखि अलपत्र बन्दा धेरै दुःख लाग्छ, उहाँले भन्नुभयो। 

रकम अभावमा विद्यालय भवन निर्माणको काम पूरा गर्न नसकिएको विद्यायल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार प्रधानले बताउनुभयो। ‘अधुरो विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन वडा तथा नगरपालिकामा आग्रह गरे, तर कसैले वास्ता गरेनन्, बजेट माग गरिएको निवेदन सबैले टोकरीमा फालिदिए, उहाँले भन्नुभयो। 

बजेट अभावकै कारण सात वर्षदेखि अलपत्र परेको विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन यो वर्ष पनि वडा तथा नगरपालिकालाई आग्रह गरिएको उहाँले बताउनुभयो। 

बजेट अभावका कारण निर्माण सुरु गरिएको विद्यालय भवन पूर्ण हुन नसकेको भन्ने आफूलाई जानकारी आएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो। 

“योजना निर्माण गर्नुपूर्व स्रोत सुनिश्चित हुनुपर्ने हो, यो विद्यालय निर्माणमा त्यो देखिएन, धेरै अगाडिको कुरा त मलाई जानकारी छैन, अर्थिक वर्ष २०७७/७८ मा वडा कार्यालयबाट सात लाख रुपियाँ बजेट विनियोजना भएको र काम भएको छ” उहाँले भन्नुभयो। 

विद्यालय भवन सम्पन्न गर्न वडाले चासो नदिएको उहाँको भनाइ छ। यो वर्ष वडा कार्यालयले प्राथमिकतामा पारेर ल्याएमा नगरपालिकाले भवन पूर्ण गर्न आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत लामगादेले बताउनुभयो।