• ७ जेठ २०८१, सोमबार

सूर्योदयको डिजिटल फड्को

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर (इलाम), साउन १६ गते  । इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । 

प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”

नगरले सबै प्रकारका कर ई–सेवा, खल्तीलगायतका एप्सबाट तिर्न मिल्ने बनाएको छ । नगरप्रमुख राईले सेवा छिटोछरितो र समयको बचत गर्न डिजिटल प्रविधिले काममा ठूलो सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख राईले कुनै जनप्रतिनिधिको अनुहार हेर्न मन नलागेको भए पनि अब अनुहार नहेरी काम गर्न सकिने वातावरण बनाइएको बताउनुभयो । 

नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले डिजिटल माध्यमको विकास र विस्तारले जवाफदेहिता र पारदर्शिता बढ्ने बताउनुभयो । “अनलाइन सेवाले काम गर्न दुवै पक्षलाई सहज भएको छ,” उहाँले भन्नुभयो । 

नगरले यसअघि नै ईएटी सिस्टममार्फत भुक्तानी दिने व्यवस्था मिलाइसकेको छ । नगरपालिका, वडा कार्यालय र नगरका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान थालेको नगरले नगर सभा र महत्त्वपूर्ण  कार्यक्रम डिजिटल डिस्प्लेमार्फत प्रत्यक्ष प्रसारण गर्दै आएको छ । 

नगरपालिकाका सवारीसाधनमा यसअघि नै जीपीएस जडान गरिसकिएको छ । नगरपालिका, वडा कार्यालय र विद्यालयमा ई हाजिरी यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । नगरपालिकामा वेदर स्टेसन (मौसमको रेकर्ड राख्ने यन्त्र) जडान गरिसकेको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक्स प्यानल बोर्ड उपलब्ध गराइरहेको छ । 

बजेट सार्वजनिक 

पारदर्शितामा विशेष ध्यान दिएको दाबी गरेको नगरले आर्थिक वर्ष २०७९/८० को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

नगरले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ३५ करोड ७९ लाख ५७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । औपचारिक कार्यक्रम गरी बजेट सार्वजनिक गर्ने इलामका १० पालिकामध्ये सूर्योदय मात्र हो । अन्य पालिकाले बजेट सार्वजनिकीकरण कार्यक्रम गरेको पाइएको छैन । चालूतर्फ करिब ५० प्रतिशत र पुँजीगततर्फ ४९ प्रतिशत बजेट विनियोजन गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । नगरले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, क्षमता विकासलगायतमा बजेट विनियोजन गरेको छ । नगरले आर्थिक विकासका लागि २२ करोड ७५ लाख रुपियाँको कार्यक्रम निर्माण गरेको छ । पूर्वाधार विकासका लागि ४३ करोड ६६ लाख खर्च गर्ने नगरको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ  । उक्त अवसरमा नगरका विभिन्न विधामा उत्कृष्ट काम गर्ने ४८ जनालाई नगरले सम्मान गरेको छ । 

बजेट सार्वजनिक गर्दै प्रदेश १ का पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश १ सरकारले कोदोको लोकल (घरेलु) रक्सीसहित स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।