• ४ साउन २०८१, शुक्रबार

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुन्छ : चेम्बर अफ कमर्स

blog

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच भएको भेटवार्ता । तस्बिर : चेम्बर अफ कमर्स

काठमाडौं, साउन १५ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो । 

मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिट्टै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गर्नुभयो ।

श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भएपनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकबीच व्यापारका लागि अझै ठूलो सम्भावना रहेको अग्रवालले बताउनुभयो ।

नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गर्नुभयो । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिनुभयो । 

बुद्धको जन्मभुमि लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गर्नुभयो ।

राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफु आशावादी रहेको बताउनुभयो । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि आफुले पहल गर्ने राजदूत मिश्रको भनाई छ ।