• २२ चैत २०८२, आइतबार

‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाले लियो गति

blog

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्रस्तावित कुलेखानी सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत् आयोजना निर्माण क्षेत्र र कुलेखानी ताल ।

गोपालचन्द्र सुवेदी / राममणि दाहाल

मकवानपुर, चैत २२ गते । मकवानपुरमा एक सय मेगावाट क्षमताको पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणको प्रक्रियाले पुनः गति लिएको छ । इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी कुलेखानी–सिस्नेरी पम्पस्टोरेज जलविद्युत् आयोजना बनाउन खोजिएको हो । 

२०७७ चैतमा विद्युत् विकास विभागबाट पूर्वसम्भाव्यता अध्ययन गर्ने अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणले अहिले सो आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, क्षेत्र निर्धारणलगायतका लागि रायसुझाव उपलब्ध गराउन भनेको छ । प्राधिकरणले उक्त आयोजनाबाट हुने प्रभावका सम्बन्धमा इन्द्रसरोवर गाउँपालिका–१, २ र ३ मा पुगेर समीक्षा र राय सङ्कलनसमेत थालेको छ ।  वडा नम्बर १ का वडाध्यक्ष सुवास थापामगरले वडा कार्यालय मार्खुमा बिहीबार र वडा नम्बर २ मा शुक्रबार आयोजनाबारे छलफल गरेको बताउनुभयो । आयोजना प्रभावित क्षेत्रको मानव बस्ती, भौतिक, आर्थिक, सामाजिक, प्राकृतिकलगायतका क्षेत्रमा पर्ने प्रभावबारे छलफलसँगै समस्याको समाधानका लागि रायसुझाव सङ्कलन गर्ने कार्य भएको उहाँले बताउनुभयो । 

प्राधिकरणले इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर तालबाट निस्कने पानीबाट कुलेखानी–१ २ र ३ मार्फत कुल १०२ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । प्रस्तावित पम्प स्टोरेज आयोजनाले पनि सोही जलाशयको पानी प्रयोग गर्ने तर सो पानी पुनः जलाशयमा फिर्ता गर्ने गरी आयोजना बनाउन लागिएको हो । आयोजनाको डिजाइन अनुसार जलाशयको पानी कुलेखानी खोलातर्फ झारेर विद्युत् उत्पादन गरी पिक समयमा दैनिक चारदेखि छ घण्टासम्म विद्युत् उत्पादन गर्ने योजना बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । “यो आयोजना ब्याट्री स्टोरेज प्रकृतिको हुने छ,” उहाँले भन्नुभयो, “विद्युत् खपत नहुने मध्यरात, अफपिक तथा आयातित भए पनि सस्तो स्लटको विद्युत् प्रयोग गरी पानी पम्प गरेर मुख्य जलाशयमै फिर्ता गरिने छ ।”

प्रस्तावित आयोजनाले विद्यमान इन्द्रसरोवरलाई माथिल्लो जलाशयका रूपमा प्रयोग गर्ने र उक्त जलाशयको बाँधस्थलभन्दा करिब तीन किलोमिटर तल इन्द्रसरोवर गापा वडा नं. २, राङ्चेनजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो नयाँ बाँध निर्माण गरी तल्लो जलाशय निर्माण हुने छ । उक्त जलाशयको भण्डारण क्षमता १५ लाख ४० हजार घनमिटर रहने प्राधिकरणको भनाइ छ ।

इन्द्रसरोवरको पानीलाई कुलेखानीखोलाको बायाँ किनारमा रहेको लिप्पानेमा प्रस्तावित विद्युत्गृहमा पानी खसाइने छ र टेलरेसबाट निस्केको पानीलाई तल्लो जलाशयमा भण्डारण हुने छ । प्रस्तावित आयोजनाबाट विद्यमान इन्द्रसरोवरको भण्डारण क्षमतामा कुनै परिवर्तन नहुने प्राधिकरणको भनाइ छ । पूर्ण क्षमतामा दैनिक रूपमा आयोजना सञ्चालन हुँदा इन्द्रसरोवरको जलस्तरमा अधिकतम २० मिटरसम्म थपघट हुने छ भने तल्लो जलाशयको जलस्तरमा अधिकतम २३.५ मिटरसम्म थपघट हुने छ । 

आयोजनाको विद्युत्गृहमा ५० मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गर्ने योजना बनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यका अनुसार वातावरणीय अध्ययन प्रतिवेदन प्राप्त भएपश्चात् विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन गरिने छ भने सँगसँगै विस्तृत आयोजना प्रतिवेदन निर्माण पनि गरिने छ । विद्युत् प्रणाली सन्तुलन र पिक डिमान्ड व्यवस्थापनमा काठमाडौँ जस्तो लोडसेन्टर नजिकै आयोजना बन्ने भएकाले यो आयोजना रणनीतिक रूपमा महìवपूर्ण छ,” शाक्यले भन्नुभयो । 

पम्प स्टोरेजबाट निकालिएको बिजुली करिब दुई किलोमिटरको दुरीमा पर्ने कुलेखानी–२ को प्रसारण लाइनमार्फत लोड सेन्टर काठमाडौँ ल्याउने योजना प्राधिकरणले बनाएको छ । ६६ केभी क्षमताको ७२ किलोमिटर लामो उक्त प्रसारण लाइनमार्फत बिजुली बालाजु सबस्टेसनसम्म ल्याउने योजना छ । प्राधिकरणले अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनसम्बन्धी क्षेत्र निर्धारण पनि गर्दै छ । सो क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौगर्भिक, जैविक, सामाजिक, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयमा रायसुझाव लिइरहेको छ ।