• २५ वैशाख २०८१, मङ्गलबार

अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

blog

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : विकास द्वारे ।

काठमाडौं, साउन १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गर्नुभएको हो।

 बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले  उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशसम्बन्धी विषयको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले  निर्दोष सावित गरेपछि उहाँ पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो।उहाँले असार २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो।

११ सदस्यीय संसदीय छानबिन समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।सभामुखलाई प्रतिवेदन बुझाए लगत्तै साउन १३ गते छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुभएको थियो।

शर्माले आर्थिक वर्ष २०७९ र ०८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन गरेको थियो। समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो। समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रसङ्ग असान्दर्भिक भएको निष्कर्ष निकालेपछि शर्मा पुनः अर्थमन्त्री बन्नुभएको हो।