• १६ असार २०८१, आइतबार

प्राविधिक त्रुटि नरहेको दाबी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १४ गते । चन्द्रागिरि हिल्स प्रालिले गत असार २२ गते एक्कासि बन्द भएर केबलकारमा सयौँ यात्रु अड्किएको घटना केबलकारको प्राविधिक त्रुटिका कारण नभएको दाबी गरेको छ ।

शुक्रबार चन्द्रागिरि हिल्सले आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिएको बताउँदै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द हुने अवस्था नेपालमा मात्रै नभई विश्वका अन्य देशमा समेत हुने गरेको छ । चन्द्रागिरिमा सञ्चालित केबलकार अस्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीको ब्रान्ड न्यु केबलकार रहेको र यही  प्रविधि विश्वका २० हजार केबलकारमा पनि प्रयोगमा रहेकाले केबलकारमा प्राविधिक त्रुटि नरहेको स्पष्ट पार्न चाहन्छौँ ।”

चन्द्रगिरि हिल्सले विद्युत्, जेनेटर र इमर्जेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको दाबी गर्दै उहाँले नियमित विद्युत् आपूर्ति अवरुद्व हुँदा गोन्डुलामा रोकिएका यात्रुलाई एक मेगावाट बराबरको जेनेरेटरको सहयोगमा र जेनेरेटर पनि बिग्रिएको अवस्थामा इमर्जेन्सी ड्राइभबाट यात्रुको उद्धार गर्न सकिने बताउनुभयो । केबलकार सञ्चालनका लागि एकै पटक धेरै पावर आवश्यक पर्ने भएकाले जेनेरेटर अटोमेटिक नरहेको र विद्युत् गएपछि बढीमा पाँच मिनेट रोकिनुपर्ने र इलेक्ट्रिक वा मेकानिकल कारणले केबलकार रोकिएमा ४० देखि ५० मिनेटमा यात्रुको उद्धार हुने उहाँको भनाइ छ ।