• १६ असार २०८१, आइतबार

अलैँची प्रवद्र्धन अभियान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १४ गते  । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादन प्रवद्र्धनका लागि ‘वाह ! अलैँची’ अभियान सुरु गरेको छ । प्रदेश १ सरकारको कृषि मन्त्रालय तथा स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा महासङ्घले सुरु गरेको अभियानको ब्रान्ड एम्बेसडर बीबीसी मास्टर सेफ सन्तोष साह रहनुभएको महासङ्घले जनाएको छ । 

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न आयोजना गरिएको जनाएको छ । यो अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्त्वपूर्ण सामग्रीका रूपमा प्रयोग बढाउने मात्र नभई आर्थिक गतिविधिसमेत बढाउन सहयोग पु-याउने विश्वास लिएको छ । 

अभियानका ब्रान्ड एम्बेसडर साहले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवद्र्धन गर्न विशेष परिकारका रेसिपीहरू तयार गर्नुहुनेछ । साथै, यो अभियानले युवा आकाङ्क्षी प्रशिक्षार्थी तथा सेफलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्ने बताइएको छ । प्रशिक्षार्थी तथा सेफहरूबीच अलैँची प्रयोग गरी विभिन्न परिकार बनाउने प्रतिस्पर्धासमेत गराउने बताइएको छ । 

नेपालमा छ हजार छ सय मेट्रिक टन अलैँची उत्पादन हुन्छ । यो पूर्वी पहाडी जिल्लाको कृषकको आम्दानीको मुख्य स्रोत हो तर नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अन्य देशबाट आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत एक सय टनभन्दा कम थियो । त्यसैगरी नेपाली बजारमा एक सय ग्राम अलैँची एक सय रुपियाँदेखि १५० रुपियाँसम्म खुद्रा खरिद बिक्री हुने गरेको छ तर त्यसको तुलनामा बाहिरबाट आउने सुकमेल एक सय ग्रामको चार सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने गरेको महासङ्घले जनाएको छ ।