• १६ असार २०८१, आइतबार

‘लजिस्टिक पोलिसी’ मस्यौदा तयार

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

२८औँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले नेपालको कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न ‘लजिस्टिक पोलिसी’को मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको जानकारी दिनुभयो ।

दक्षिणी तथा उत्तरी सीमा नाकामा सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी निर्माण गर्ने नीतिअनुसार कार्य भइरहेको र सीमा नाकामा आवश्यक क्वारेन्टाइन ल्याब सुविधा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । मन्त्री बडूले भन्नुभयो, “अहिले सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाह र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रूपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीको महत्त्वपूर्ण र सक्रिय सहयोगको अपेक्षा छ ।”  उहाँले देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामानसमेत आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा सरकारले स्वदेशी उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेको र नेपाल उद्योग वाणिज्य महासङ्घले अगाडि सारेको भिजन २०३० ले औँल्याएका विषयमा पनि छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुने बताउनुभयो ।