• ४ साउन २०८१, शुक्रबार

बाँकेको कम्दीमा राप्ती नदी र डुडुवा खोलामा नयाँ पुल निर्माण हुने

blog

जिर्ण बन्दै गएको र निकै साँघुरो कम्दीस्थित राप्ती नदीको पुल । तस्विर: सिराज खान

नेपालगञ्ज, साउन १३ गते । बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा विकास निर्माणमा पछाडि परेको राप्तीपारिका क्षेत्रमा क्रमशः विकासले गति लिंदै गएको छ । 

गतवर्ष मात्रै नेपालगञ्जदेखि नरौपुर सुईया बघौडासम्मको सडक निर्माण सम्पन्न भै कालोपत्रे समेत भएको र विद्युत् पनि सो क्षेत्रसम्म पुगेको थियो । सडक र विद्युत् पुगेपछि स्थानीयले विकासको अनुभूति गर्न थालेका छन् । 

नेपालगञ्जलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग जोड्ने एक मात्र माध्यम कम्दीस्थित राप्तीनदी र डुडुवा खोलामा निर्माण गरिएका पुलहरु निकै साँघुरा र जीर्ण बनेपछि ती दुबै पुल नयाँ र ठूला निर्माण गरिने भएका छन् । 

ती दुबै पुल साना र जीर्ण भएकोले राप्तीपारसका बासिन्दालाई सदरमुकाम आउन जान निकै समस्या हुने गरेको तथा वर्षामा बाटो नै अवरुद्ध हुने गरेकोले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती दुबै पुल नयाँ बनाउने भएको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राप्ती नदी र डुडुवा खोलामा नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । 

उहाँले ती दुबै पुल निर्माणसंगै डडुवा गाउँपालिका ४ सिधनियादेखि नेपालगञ्जको पुष्पलाल चोकसम्मको हुलाकी सडकलाई स्तरवृद्धि गर्ने निर्णय मन्त्रालय गरिसकेको बताउनुभयो । 

राप्तीपारिको ठूलो क्षेत्रलाई नेपालगञ्जसँग जोड्ने राप्ती नदीको पुल र डुडुवा खोलाको पुल नयाँ निर्माण भएपछि यस क्षेत्रको विकासले ठूलो फड्को मार्ने नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । 

उहाँले एक पटकमा एउटा मात्र गाडी पास हुने र निकै साँघुरो तथा छोटो राप्तीपुलले जनतालाई आवागमनमा समस्या भैरहेकोले अब चाैडा र लामो पुल बन्ने भएपछि नरैनापुरवासी सबैभन्दा बढी खुशी भएको बताउनुभयो । 

सोही प्रकारको प्रतिक्रिया राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको पनि छ । उहाँले पनि राप्तीनदीमा निर्माण गरिएको पुल निकै साँघुरो र पुरानो भैसकेकोले नयाँ बन्नुपर्ने माग गरिरहेको बेला बन्ने सुनिएपछि खुशी लागेको बताउनुभयो । 

वर्षा हुने बित्तिकै पुल अगाडिको भागमा पनि नदी बग्ने गरेकोले आवागमन अवरुद्ध हुने हुँदा लामो समयदेखि निकै लामो पुलको माग डुडुवाका स्थानीयले गर्दै आएको स्थानीय राजेन्द्र विश्वकर्माले बताउनुभयो । 

सोही प्रकारले मन्त्री राईले राप्तीनदीको होलिया छिटाईपुर्वामा पनि पुलको आवश्यकता रहेको जनाउँदै उक्त स्थानमा पुल निमार्णका लागि समेत योजना बनाइरहेको बताउनुभएको छ । 

पुलको अभावमा त्यहाँका स्थानीयका लागि नदी वारपार तथा अवतजावत गर्न हिउँदमा डुङ्गाको भर पर्नुपर्ने र वर्षामा आवागमन बन्द हुने हुँदा राप्तीपारि पाझा, चौफेरी लगायतका गाउँ र नरैनापुर गाउँपालिकासँग प्रत्यक्ष सम्पर्क टुट्ने गरेको छ । 

Author

सिराज खान