• ४ साउन २०८१, शुक्रबार

उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह

blog

मकवानपुर समाचारदाता

हेटौँडा, साउन १३ गते ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउन उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।  बिहीबार हेटौँडा आइपुग्नुभएका उद्योगमन्त्री बडूले उद्योगी व्यवसायीसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । 

उद्योगी व्यवसायीसँग मन्त्री बडूले देशको अर्थतन्त्र सहज नभएको भन्दै बढ्दो आयात र अपेक्षाअनुसार निर्यात नहुँदा व्यापार घाटा बढेको बताउनुभयो । 

१० वटै औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग सञ्चालन नगरेकाको बारेमा समाधान खोजिने चर्चा गर्दै उहाँले भन्नुभयो, “विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायतका उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्छ र नयाँ उद्योग स्थापना गर्नु आवश्यक छ ।” 

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले बजेट विनियोजन गरिसकेको र निजी क्षेत्रले सञ्चालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गर्ने जानकारी दिँदै उहाँले विदेशी मुद्रा सञ्चिति र व्यापार घाटा कम गर्न उद्योगको उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्छ भन्नुभयो ।

सुनसरीमा ६५० बिघा र सुदूरपश्चिमको हरैयामा ३२० बिघा जमिन उद्योग स्थापनाका लागि छुट्याइएको चर्चा गर्दै मन्त्री बडूले औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घ मकवानपुरले बिहीबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी मन्त्री बडूसँग लगानीमैत्री वातावरण बनाउन माग गरेका थिए ।

सो अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले हेटौँडामा नापतौल कार्यालय स्थापना, उद्योगी÷व्यवसायीलाई एक अङ्कको ब्याजदरमा बैङ्कबाट ऋण प्रवाह र औद्योगिक क्षेत्रको जग्गा भाडामा भएको अस्वाभाविक वृद्धिको निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको थियो । 

उहाँले जीर्ण उद्योग सञ्चालनमा ल्याउन सहुलियत पुनर्कर्जा, हेटौँडा कपडा उद्योग र मयुरधाप विस्तारित औद्योगिक क्षेत्र छिटो सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

सङ्घले सामान आयातका लागि एलसी खोल्दा सहज गर्न, वातावरणी प्रभाव मूल्याङ्कनलाई सहजीकरण गर्न र उद्योग दर्ता एकद्वार प्रणालीबाट गर्ने व्यवस्था गर्न माग गरेको छ । यस्तै उद्योग सङ्घ मकवानपुरले उद्योगमन्त्री बडूलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले असहमतिका बीच अप्रत्याशित रूपमा औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धि गरेकामा आपत्ति जनाएको छ । 

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगमन्त्री बडूलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भाडा वृद्धि गर्ने निर्णय खारेज गर्न माग गर्नुभएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ मङ्सिर ५ गते भाडा वृद्धि गर्न गरेको निर्णय मन्त्रालयको निर्देशनपछि कार्यान्वयन रोकिएकामा पुनः गत असार २२ गते निर्णय गरी चार वर्षअघिको निर्णय कार्यान्वयन गर्न औद्योगिक क्षेत्रलाई पत्राचार गरेको थियो ।

कोभिड–१९ लगायतका समस्या झेल्दै आएका उद्योगीले वृद्धि गरिएको जग्गा भाडा बुझाउन सक्ने अवस्थामा नरहेको अध्यक्ष प्याकुरेलले बताउँदै उक्त निर्णय खारेज गरी दीर्घकालीन समस्या समाधानका लागि मन्त्री बडूसँग माग गर्नुभयो । यस्तै मन्त्री बडूले हेटौँडा सिमेन्ट उद्योग, बन्द कपडा उद्योग र निर्माणाधीन मयूरधाप औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।