• ४ साउन २०८१, शुक्रबार

लाख नाघे ‘नमस्ते पे’ प्रयोगकर्ता

blog

काठमाडौँ, साउन १३ गते । सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’का प्रयोगकर्ता एक लाख नाघेका छन् । 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे सञ्चालनमा छ । कोभिड–१९ ले सिर्जना गरेको जटिल परिस्थितिकै अवस्थामा कम्पनी सुरु गरे पनि पछिल्लो समय यसका प्रयोगकर्ताको आकर्षण बढिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । “समयमै उपकरण आपूर्ति नहुनेजस्ता समस्या हुँदाहुँदै पनि यहाँसम्म आइपुग्नु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो । 

४० करोड रुपियाँ चुक्ता पुँजी रहेको नमस्ते पेमा टेलिकमको ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कको ४९ प्रतिशत लगानी रहेको छ । प्रविधिको उपयोगमार्फत ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित २०७७ साउन १३ गते कम्पनी सञ्चालनमा आएको थियो । शुक्रबार कम्पनीले दुई वर्ष पूरा गर्दै छ । नमस्ते पेप्रति बढ्दो विश्वासलाई दिगो राख्न कम्पनीले भविष्यमा नयाँ सेवा सुविधा थप्ने तथा थप आकर्षित बनाउन यजुर इन्टरफेस (यूआई)मा परिवर्तन गर्ने योजना रहेको भण्डारीले जानकारी दिनुभयो ।