• ४ साउन २०८१, शुक्रबार

साउनमा शिवको आराधना

blog

आजकल यस्तो लाग्छ कि साउन महिना सुरु हुनु भनेको बजारमा हरिया, पहेँला पोते, चुरा र पहिरनहरूको सजिसजाउ हुनु। महिलाको सिउँदोमा सिन्दुर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने रन्को बढ्नु हो। अवश्य पनि पौराणिक प्रचलन र संस्कारलाई हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाएको प्रसङ्ग जोडिएर आउँछ। यसले श्रीमान्–श्रीमतीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्दछ तर भगवान् शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारिता सबै पक्षलाई बिर्सेर केवल शृङ्गार र शारीरिक सौन्दर्यतामा ध्यान दिएर मात्र, श्रीमान्का लागि प्रेम दर्शाएको भन्दा व्यावहारिक नहोला। त्यसमा पनि शिव मन्दिरको दर्शन गर्नु, शिवलिङ्गको पूजा गर्नुलाई वास्तविक अर्थ नै नबुझी व्याख्या र विश्वास गरिएको पाइन्छ । समर्थगुरु सिद्धार्थ औलिया बताउनुहुन्छ, 

“लिङ्गको अर्थ हो प्रतीक, सूचक, बोधक अर्थात् चिह्न।” जसरी स्त्रिलिङ्ग शब्दले स्त्री गुणलाई बोध गर्न सहज बनाउँछ अनि पुलिङ्ग शब्दले पुरुष गुणलाई बुझाउँछ, त्यसैगरी शिवलिङ्ग शब्दले शिवको, शिवत्वलाई बोध गर्नु हो। शिव बोधक, शिवको प्रतीक, कल्याणकारिताको प्रतीक हो। यसमा अन्य धारणा जोडेर व्याख्या गरिनु विकृत मानसिकताको उपज हो। 

शिवत्व बोध कसरी गर्ने ?

शिवत्व बोध हुनका निम्ति ध्यान, साधना र सकारात्मक मानसिकता जरुरी पर्दछ। आज व्यक्तिमा, समाजमा, राष्ट्रमा र संसारमै जुन अस्थिरता, बेचैनी, अराजकता र अपूर्णताको महसुस हुन्छ त्यसको मुक्तिका लागि ध्यान गर्नु र मानसिक शान्ति एवं प्रसन्नतालाई बढाउनुको विकल्प छैन। बेचैनी, अराजक र तनावपूर्ण गरिएका कुनै पनि कर्मले व्यक्तिको जीवनमा आनन्द प्राप्त हुँदैन र राष्ट्रमा समृद्धि पनि आउँदैन। शान्ति, प्रसन्नता, आनन्द र सफलताको राज ध्यान नै हो भगवान् शिवले देवी पार्वतीलाई १०८ ध्यान विधिद्वारा साधना गराई जीवनको सार्थकता बताउनुको रहस्य पनि त्यही थियो। हामी भने महत्त्वपूर्ण  पक्षलाई छाडेर बाहिरी शृङ्गार र व्रतमा मात्र जोड दिइरहेका हुन्छौँ। शृङ्गार महिलाको बाहिरी आकर्षण हो तर जति बाहिर हामी आकर्षित देखिन प्रयास गर्दछौँ त्यति नै भित्रबाट मन पनि सफा, पवित्र र प्रफुल्ल हुनु जरुरी छ। हामीले प्रेम, सद्भाव, कल्याणकारिता र सत्यम्, शिवम्, सुन्दरम् जस्ता भावलाई आफ्ना कर्म र आचरणमा जोड्न बिर्सेका छौँ त्यसैले त जति व्रत बसे पनि, जति शृङ्गारले सजिए पनि हामीभित्र अशान्ति, बेचैनी र अपूर्णता नै बाँकी छ। श्रीमान्–श्रीमती या प्रेमीप्रेमिकाबीच कटुता बाँकी नै रहन्छ। ध्यानको अभ्यासद्वारा भित्रका विकार नहटाउँदासम्म जीवनमा प्रेम, सहजता र पूर्णता मिल्दैमिल्दैन किनकि सांसारिक सम्पन्नता पूर्णताको परिचायक होइन।

नारी–पुरुषको प्रसङ्ग 

हाँसउठ्दो कुरा त के छ भने हाम्रो समाजमा हामी महिला एकातिर हामी नारीवादका कुरा गर्छौं अर्कोतिर नारीले नगरे पुरुषले पाउँदैन भन्ने मान्यता पनि राख्दछौँ। हो, प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्दछन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका पनि हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। हाम्रै सोच, विचार र उक्तिमा विरोधाभास खडा गर्ने काम हामीबाट नै भइरहेको हुन्छ।

समाजमा या घरमा, घरेलु हिंसा बढुन् या बलात्कारका घटना या अन्य कुनै सामाजिक कुरीति, विकृति र अराजकता हुन् आवाज उठ्छ पितृसत्तात्मक सोच हाबी भएका कारण यी सब अराजकता घटिरहेका छन्। अर्कोतिर फेरि नारीशक्तिको उपासना यहि समाजले गर्ने गरेको छ। देवी, पार्वतीले नदिए शक्ति प्राप्त हुँदैन भने लक्ष्मीले नदिए धन प्राप्त हुँदैन। श्रीमान्ले व्रत नबसे पनि श्रीमतीको आयु नघट्ने तर श्रीमतीले व्रत नबसे श्रीमान्को आयु घट्छ भन्ने अटल विश्वास छ। श्रीमान्को व्यापार व्यवसाय, नोकरीमा पदोन्नति, सफलता सबैमा महिलाको हात हुन्छ। महिलाले गर्ने पूजाआजा व्रत, ग्रहदशा शान्ति आदि कर्मले नै पुरुषको भाग्य या अभाग्य निर्धारण हुन्छ भने समाज कसरी, कुन आधारमा पुरुषप्रधान भएको मान्ने ? खेतमा धान नफले पनि कृषिप्रधान देशको मान्यता हटेको छैन भने घरमा दाल नगले पनि पुरुषप्रधान भन्ने मान्यता छुटेको छैन। श्रीमान् भान्सामा पसेर दाल पकाउँदा धन्यवादको सट्टा यसो भएन र त्यसो भएन, फोहोर भयो भनेर निरुत्साहित गर्ने गृहलक्ष्मीको सङ्ख्या पनि त कम छैन। हाम्रा आवाज र गुनासा आफैँमा विरोधाभासपूर्ण छन्। गहिराइबाट, व्यावहारिक पक्षबाट नहेरी सतहमा हामी कुर्लिने गर्दछौँ। के यथार्थ हो र के मान्यता हुन् छुट्याएका हुँदैनौँ।

भावना मानिसको अन्तस्करणबाट प्रस्फुटन हुने गुण हो जसलाई महिला र पुरुष भनी लैङ्गिक आधारमा अलग गर्न खोज्नु अर्थपूर्ण छैन। गल्ती, अन्याय, अराजकता महिला या पुरुष जसले गरे पनि त्यो मानसिक समस्या र मानसिक अस्थिरताबाट उत्पन्न हुने कुरा हुन्। भावनात्मक रूपमा मानिस हृदय उस्तै हुन्छ महिला पुरुष दुवैको। महिलाले पुरुषलाई पनि मानवीयता, भावनात्मकता, प्रेम र सौहार्दताबाट बराबर अस्तित्वले सृजित अस्तित्वको सुन्दर सृष्टि हो भनेर हेर्ने बोध नहुँदासम्म समाजमा महिला र पुरुषबीचको खाडल बनी नै रहन्छ। आफ्नै घरको श्रीमान्लाई राजा र छोरालाई राजकुमार बराबर मानेर सम्बोधन गर्नेले नै बाहिर पुरुषप्रधान भयो समाज भन्दै आवाज उठाउने गरेको पाइन्छ।

आफ्नो छोरालाई र श्रीमान्लाई राजकुमार, राजा बराबर मान्नुको अर्थ हो प्रेमको दृष्टिले आफ्ना मान्छेलाई उच्च तहमा राख्नु। अर्कोतिर त्यही घरकी छोरीलाई अनेक संस्कार सिकाउन बाध्य छन् घरबाट एक्लै बाहिर ननिस्कनु, साँझ नपर्दै घर आउनु, केटासाथीसँग नजिकिएर नबोल्नु, छोटो लुगा नलगाउनु, छोरी भएको कारण घरको काम सबै सिक्नु, पाहुना र आफन्त आउँदा झुकेर नमस्कार गर्नु आदि। नजानिँदो तरिकाले लैङ्गिक विभेदका संस्कार र शिक्षा घरैबाट सुरु भएका हुन्छन्। छोरीलाई छोरासरह हिम्मतवर बनाउने शिक्षा घरबाट नै सुरु हुनुपर्दछ।

घरबाट नै फरक दृष्टिले हेरिनुको कारण हो परम्परालाई तोड्न सजिलो छैन। परिवर्तन सजिलै आउँदैन जति हामी भाषणमा र कागजमा कुर्लिने गर्दछौँ। नारीवाद र पुरुषवाद भनेर महिलाले नै आफूलाई फरक कोटीमा राख्न चाहन्छन्। कुनै पुरुषले महिलावादको पराकाष्टा भनेर समाचार बाहिर ल्याएको पाइन्न तर समाजमा जे घटना घटे पनि पुरुषवाद भनेर चित्रण गरिहाल्ने प्रवृत्तिले गर्दा महिलाले आफ्नो अस्तित्वलाई सधैँ पुरुषसँग तुलना गरेर हेरेको पाइन्छ। श्रीमान्–श्रीमतीबीचमा, समानता, सौहार्दता, आत्मीयता, सहयोग र प्रेमपूर्ण वातावरणमा जीवन बिताएका कथाहरू समाचारमा आउँदैनन्। जुन घरमा सौहार्दता, प्रेम र श्रद्धा छैन, कलह र दुस्मनी मात्र छ, अंश र वंशमा मुद्दा परेको हुन्छ तिनै कथाहरू समाचार बनेर आउँछन् अनि पूरै समाजलाई पुरुष प्रधानको ज्यादती भनेर चित्रण गरिएको हुन्छ। 

कलह र दुस्मनी लैङ्गिक विभेदका कारणले हुने होइन संस्कारको अभाव, प्रेमको अभाव र बाहिरी घटनाका प्रभावबाट हुने गर्दछन्। यसमा महिला र पुरुष कसैको पनि दोष छैन। दोष त मान्यतामा, संस्कारमा र मनस्थितिमा छ। दृष्टि बदल्न सके मात्र सृष्टि बदलिन्छ। मनस्थितिमा सधैँ विभेद देख्न थालेपछि परिस्थितिमा पनि विभेद आउनु स्वाभाविक हो। परिवारको प्रेममा प्रमाण हुँदैन, प्रमाण त अदालतमा मात्र काम लाग्छ किनकि प्रमाणले त आवेशलाई बढाउन मात्रै मद्दत गर्दछ। वास्तवमै सकारात्मक परिवर्तन चाहने हो भने परिस्थिति र घटना सच्याउनतिर होइन आफ्नो कथा सच्याउनतिर लाग्नुपर्दछ। आफ्नो कथा कसरी लेख्ने त्यो स्वयंमा निर्भर गर्दछ। एक हुल जन्ती लिएर बेहुली लिन जाने समाजमा बेहुली एक्लै बेहुलाको घर प्रवेश गर्छिन् भने कसरी महिला कमजोर भए ? महिलालाई निम्नकोटीमा राख्ने र कमजोर मान्ने घर र समाजलाई प्रमाणले होइन व्यवहारले परिवर्तन गरेर देखाउनु जरुरी छ। शृङ्गार र व्रतले मात्र पुग्दैन भावनात्मक सहयोग र प्रेमले रूपान्तरण गर्नु जरुरी छ। शिवत्वको बोधले लैङ्गिक विभेद हटोस् तब मात्र शिवको आराधना सार्थक हुनेछ।