• ४ साउन २०८१, शुक्रबार

मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ छिचोलियो

blog

मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङ । तस्वीर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, साउन १२ गते । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङको अन्तिम ‘बे्रक थु’ गरिएको छ । 

उक्त आयोजनाका सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले ७ हजार १२६ मिटर लम्बाइ र ५ दशमलव ७ मिटर ब्यास रहेको सुरुङको निर्माण कार्य साउन १२ गते नै सम्पन्न भएको जानकारी दिनुभयो । 

उहाँले अहिले सुरुङमा ढलान (लाइलिङ) गर्ने कार्य शुरु भएको बताउनु भयो । उक्त आयोजनाको बाँध क्षेत्र भोटेकोशी गापा १ मा र बाह्रविसे नगरपालिका वडा नं. ५ मा पावरहाउस रहेको छ । १०२ मे.वा. क्षमताको यस आयोजनाको औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट  छ । नेपाल विद्युत प्राधिकरण र मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. बीच विद्युत खरिद सम्झौता २०६८ कात्तिक २८ गते भएको थियो ।

आयोजना अनुसार, ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानीमा निर्माणाधीन सो कम्पनीले कर्मचारी संचय कोषसँग २०६८ मंसिर २२ गते ऋण सम्झौता गरेको थियो । 


परामर्शदाताको रुपमा ट्रयाक्टेबल  ईन्जिनियरिङ्ग (जर्मन ) रहेको छ भने ठेकेदार कम्पनीको रुपमा सिभिल र हाईड्रो मेकानिकल तर्फ ग्वाङ्सी हाईड्रो ईलेक्ट्रिक कन्सट्रक्सन ब्युरो, चाइना, ईलेक्टो मेकानिकलतर्फ एन्ड्रिज हाईड्रो प्राइभेट लिमिटेड, भारत र २२० के. भि. प्रसारण लाइनतर्फ ऊर्जा एसी जेभी गरी तीन वटा ठेकेदार कम्पनीले कार्य गरिरहेका छन् । 

सो आयोजनाको टेष्ट टनेल र डाईभर्जन टनेल हिमालहाईड्रो कन्सट्रक्सन लिमिटडले सम्मन्न गरेको थियो । कम्पनीको निर्माण कार्य २०७० पुस १७ बाट शुरुवात भएको थियो । परिमार्जनसहित जम्मा लगानी १४ अर्व ८३ करोड ९२ लाख छ । 

 सुरुङ्गको बाँध क्षेत्रतर्फ सिभिलअन्तर्गतको सम्पूर्ण कार्य (करिब ९७ प्रतिशत ) सम्पन्न भइसकेको छ भने हाइड्रो मेकानिकल तर्फको कार्यहरु द्रुत गतिमा भइरहेको इन्जििनियर पराजुलीले बताउनु भएको छ ।

पावरहाउसतर्फ सिभिलअन्तर्गतको मुख्य संरचनाहरु सम्पन्न भइसकेको छ भने ईलेक्टो मेकानिकलतर्फको कार्यहरु तीव्र गतिमा निर्माण भइरहेको छ । २२० के.भि. प्रशारण लाइनको कार्यअन्तर्गत टावर निर्माणको कार्यहरु भइरहेको छ । 

यसैगरी, भट्रिकल साफ्ट, सर्ज टैंकलगायतका संरचनाहरुका कार्यहरु सम्पन्न हुने अवस्थामा छन् । आयोजनाको सम्पूर्ण कार्य प्रगति लगभग ८५ प्रतिशत भन्दा माथि भइसकेको छ । 

यही रफ्तारमा कार्य अगाडि बढेमा करिब एक वर्षमा विद्युत उत्पादन शुरु हुने छ । स्थानीयहरुको समेत लगानी रहेको आयोजनाका कामहरु विभिन्न कारणले विगत लामो समयदेखि अगाडि बढ्न नसकेकोमा गएको एक वर्षदेखि निर्माणका कार्यहरु तीव्र गतिका साथ अगाडि बढेकोमा स्थानीयहरु समेत निकै खुसी छन् । 


करिब डेढ वर्ष अगाडि मध्यभोटेकोशीको व्यवस्थापन परिवर्तन भए सँगै र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनपश्चात् उक्त कम्पनीको निर्माण कार्यले तीव्रता पाएको छ । 

गत वर्ष विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना स्थलमा उपस्थित भएर परामर्शदाता, ठेकेदार लगायत आयोजनाका कर्मचारीलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

कम्पनीका व्यवस्थापक, परामर्शदाता कम्पनी, ठेकेदार कम्पनी तथा आयोजनका सम्पूर्ण कर्मचारीको संयुक्त पहलको कारण मध्य भोटेकोशीको निर्माण कार्य अगाडि बढेको हो ।