• २० वैशाख २०८३, आइतबार

देशमा दोहन र लुटतन्त्रका प्रतिवेदन हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले

blog

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ।

काठमाडौँ, वैशाख २० गत ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

उहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताउनुभयो ।

उहाँकाअनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ ।राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारले नयाँ सुरुवातको सङ्केत दिन खोजिरहेको बताउनुभयो ।

वाग्लेले विगतमा गल्तीहरू भएका भए ती गल्तीहरूलाई प्रश्रय नदिन निजी क्षेत्रलाई आह्वान समेत गर्नुभयो । उहाँले अपराधीहरूको बचाउने प्रयास नगर्न चेतावनी दिनुभयो ।अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका केही आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशङ्का गरेपनि त्यस्तो नरहेको बताउनुभयो ।

उहाँकाअनुसार रास्वपा सरकारले ‘फोहोर सफा’ गर्दैछ । त्यो फोहोर विवेक पुर्‍याएर सावधानीपूर्वक गर्न लागिएको उहाँले बताउनुभयो ।रास्वपा पार्टी सभापति रवि लामिछानेको भनाइ यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लेले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने बताउनुभयो ।

नेपालमा ऐन कानूनले गर्दा धेरै दुख पाएको व्यवसायीले बताएको सुनाउँदै उहाँले त्यस्ता ऐन कानूनहरु सुधारको बाटोमा सरकार अघि बढेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लले भन्नुभयो,“करिब १० वर्षअघि एक चर्चित व्यवसायीले मलाई भन्नुभएको थियो, “स्वर्णिम जी, नेपालको ऐनकानुन यस्तो छ कि एउटा इमानदार मान्छे छिर्यो भने त्यो कानुनले उसलाई यसरी घुमाइदिन्छ कि निस्कँदा ऊ पनि बेइमान भएरै निस्कन्छ । नेपालको राजनीतिक अर्थतन्त्रको यो चित्रणसँग पूर्ण रूपमा सहमत छु । र, हामीले यो बेथिति सफा गर्ने वाचा गरेका छौँ । हामीले इमानदार उद्यमीहरूका लागि वातावरण बनाउने सङ्कल्प गरेका छौँ, जसले स्वच्छ व्यवसाय गर्न चाहन्छन्, कर तिर्छन्, रोजगारी सिर्जना गर्छन् र सरकारी ढुकुटी भर्छन् ताकि हामी शिक्षा, स्वास्थ्य, ग्रामीण पहुँच र गरिबी निवारणमा लगानी गर्न सकौँ। आगामी दिनमा खेलको नियम यही हुनुपर्छ । यो ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञबीचको यो अपवित्र सम्बन्ध अब अन्त्य हुनुपर्छ । हामी एउटा नयाँ र स्वच्छ सुरुवातको सङ्केत दिन चाहन्छौँ । अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु । मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ ।” 

अर्थमन्त्री वाग्लेले निजी क्षेत्र इमानदारिताको जगमा उभिएर फस्टाउनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ सुशासनप्रति पूर्ण प्रतिवद्ध रहेको बताँदै उहाँले पछिल्लो चार वर्षमा काठमाडौँ महानगरमा बालेनको कार्यकाल सम्झनुभयो । 

वाग्लेले बालेन महानगरमा हुँदा अर्बौँको बजेट परिचालन गर्दा पनि अहिलेसम्म उहाँको नाममा एउटै पनि घोटाला नसुनिएको बताए । 

वर्तमान सरकारको शासनकालमा यही मानक स्थापित गराउने वाग्लेले बताउनुभयो । वाग्लेले निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरणमा वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

प्रवासी, विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गरेर मुलुकमा लगानी बढाइने उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले आगामी बजेटमा निजी क्षेत्रले उदार अर्थतन्त्रतर्फको प्रष्ट मोडल देख्नु पाउने समेत बताउनुभयो ।

 उहाँकाअनुसार उक्त मोडलमा लगानीलाई प्रोत्साहन गर्नेछ । निजी सम्पतीको सुरक्षा गर्नेछ । करको भारलाई कम झन्झटिलो बनाउनेछ ।