• ४ साउन २०८१, शुक्रबार

मदिराजन्य पदार्थबाट वार्षिक ३३० करोड राजस्व

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १२ गते । नेपाल मदिरा पैठारीकर्ता सङ्घ (लियन) ले नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगरे नेपालको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने बताएको छ ।

सो संस्थाका अनुसार नेपालले मदिराजन्य पदार्थबाट वार्षिक तीन सय ३० करोड रुपियाँ राजस्व प्राप्त गर्ने बताएको छ । सरकारले साउन १ देखि पुनः ४५ दिनका लागि रोकमा समय थप गरेपछि मदिराजन्य पदार्थको डुब्लिकेशन, लोकप्रिय ब्राण्डको तस्करी र चोरी पैठारी बढेको संस्थाले जनाएको छ । 

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । आयातित मदिराजन्य पदार्थहरुमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकूल प्रभाव पार्नेछ ।”

विदेशी ब्राण्डका मदिराजन्य सामग्री आयातमा रोक लागेपछि पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परेको लियनका अध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो । ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउँदा विदेशी ब्राण्डको पेय पदार्थ खोज्नेगरेको र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्राको आर्जन हुनेगरेको उहाँले बताउनुभयो ।

लियनले नेपालमा अन्तर्राष्ट्रिय बियर, वाइन र स्पिरिट ब्राण्डहरु आयात गर्ने र त्यसको बजारीकरण गर्दैआएको छ । अन्तर्राष्ट्रिय पेय पदार्थले नेपालको पर्यटन उद्योग प्रवर्धनमा विकास गर्ने सो संस्थाको भनाइ छ ।