• १५ वैशाख २०८३, मङ्गलबार

गौर नगरपालिकाको खाता बन्द, सेवा प्रवाह प्रभावित

blog

गौर नगरपालिका कार्यालय, गौर । तस्बिरः प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १५ गते ।
रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिकाको खाता बन्द भएपछि कामकाज प्रभावित भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलको मौखिक आदेशका आधारमा गएको शुक्रबार गौर नगरपालिकाको खाता लेखा अधिकृत छैठौँ सोहेल अन्सारीको नाममा सञ्चालन गरेको थियो ।

तर खाता सञ्चालन भएको केही घण्टा नबित्दै गौर नगरपालिकाका लेखा अधिकृत सातौँ सोहनकुमार यादवले आफू वरिष्ठ कर्मचारी भएको भन्दै आफ्नो नाममा खाता सञ्चालन हुनुपर्ने मागसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि सो कार्यालयले गौर नगरपालिकाको सम्पूर्ण खाता बन्द गरेको छ ।

२०८२ चैत २४ गते नगर कार्यपालिकाले लेखा अधिकृत छैठौँ अन्सारीकै नाममा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७७ मङ्सिरदेखि अन्सारीकै नाममा खाता सञ्चालन हुँदै आएको थियो । लेखा अधिकृत सातौँ यादवले अन्य पालिकामा सरुवा सहमति लिएको आधारमा अन्सारीकै नाममा खाता सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख शम्भु साहका अनुसार विगतमा अन्सारीको नाममा खाता सञ्चालन हुँदा यादवले कुनै आपत्ति नजनाएको तर अहिले आएर असहमति जनाएको बताउनुभयो । लेखा अधिकृत यादवलाई आर्थिक विकास शाखा प्रमुखको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

लेखा अधिकृत यादवले भने आफू वरिष्ठ लेखा अधिकृत भएकाले गौर नगरपालिका र कोष तथा लेखा नियन्त्रक कार्यालयमा आफ्नो नाममा खाता सञ्चालन गर्न निवेदन दिएको बताउनुभयो । चार वर्षदेखि नगरपालिकाले आफूलाई काममा नलगाई पूर्वाग्रह राखेको उहाँको गुनासो छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार महालेखा नियन्त्रक कार्यालयको मौखिक आदेशमा शुक्रबार खाता सञ्चालन गरिएको थियो । तर, वरिष्ठ लेखा अधिकृतको निवेदनका आधारमा खाता बन्द गरिएको हो । अब महालेखा नियन्त्रक कार्यालय वा जिल्ला प्रशासन कार्यालयको लिखित आदेश आएपछि मात्र खाता सञ्चालन हुने उहाँले बताउनुभयो ।