• १५ वैशाख २०८३, मङ्गलबार

सल्यानको १६ औँ राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डेमा हुने

blog

प्रतियोगिता सञ्चालन हुने स्थल प्रभाकर मावि, देवस्थल । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, वैशाख १५ गते ।
सल्यान जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख २५ गतेदेखि सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानका अनुसार प्रतियोगिता वैशाख २७ गतेसम्म बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन गरिने तयारी गरिएको छ ।

कार्यालय प्रमुख शिवराज अधिकारीका अनुसार प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो । उहाँले भन्नुभयो, “जिल्लाभरका प्रतिभाशाली विद्यार्थी खेलाडीलाई एउटै मञ्चमा ल्याई उनीहरूको खेल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।”

प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलस्थित प्रभाकर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ ।

खेलकुद विकास समितिले जिल्लाका सबै १० स्थानीय तहलाई अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरी आ–आफ्ना टिम दर्ता गर्न अनुरोध गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (संशोधनसहित) को अनुसूची–१ बमोजिम फाराम भरी २०८३ वैशाख २३ गतेसम्म टिम दर्ता गर्नुपर्ने जनाइएको छ ।

प्रतियोगितामा जिल्लाभरबाट करिब ७०० जना विद्यार्थी खेलाडीको सहभागिता रहने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । साथै विभिन्न विधाका खेल सञ्चालन गर्न करिब ४० जना निर्णायक परिचालन गरिनेछ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालयस्तरका खेलाडीबीच हुने महत्वपूर्ण प्रतियोगिता मानिन्छ । यसले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान, विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउने लक्ष्य समेत राखिएको छ ।

यसअघि १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुमाख गाउँपालिकामा र १४ औँ प्रतियोगिता कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको थियो ।