गुणबहादुर रोका
सुलीकोट, वैशाख १५ गते । गोरखामा ठेकेदार कम्पनीको लापरबाहीका कारण नारेश्वर–निबेल–ताकुकोट सडक निर्माण कार्य विगत पाँच वर्षदेखि अलपत्र परेको छ । २०७८ असारमा ठेक्का सम्झौता भई काम सुरु भए पनि हालसम्म भौतिक प्रगति करिब ३० प्रतिशतमा सीमित रहेको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
मकवानपुरस्थित अमर ज्ञानेस जेभीले २३ करोड ७५ लाख रुपियाँमा निर्माणको जिम्मा लिएको उक्त १० किलोमिटर सडक खण्डमा हालसम्म संरचनागत काम मात्र सम्पन्न भएको इन्जिनियर अमरदीप चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक खण्डमा मेसनरी वाल निर्माण र केही ग्राभेलको काम बाहेक अन्य प्रगति हुन सकेको छैन । ठेकेदार कम्पनीले आगामी असार मसान्तसम्म सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको भए पनि कामको गति अत्यन्त सुस्त छ । ठेक्काको म्याद दोस्रो पटक थप गरिएको छ ।
यसैगरी सोही कम्पनीले जिम्मा लिएको चनौटे–तामालाबोट–पाल्खु सडक पनि अलपत्र अवस्थामा रहेको छ । १० करोड रुपियाँ लागतको उक्त ३ किलोमिटर सडकमा हालसम्म करिब २८ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । यहाँ पनि ग्याभियन र मेसनरी वाल निर्माण बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।
पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालका अनुसार ठेकेदारलाई पटक–पटक काम सुरु गर्न ताकेता गरिए पनि प्रभावकारी प्रगति हुन सकेको छैन । “अब छिट्टै काम अघि बढाउन निर्देशन दिनेछौँ, अटेर गरे कानुनी प्रक्रिया अघि बढाउँछौँ,” उहाँले भन्नुभयो ।
सडक कालोपत्रे नहुँदा स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको बारपाक–सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । विशेष गरी वर्षायाममा सडक बिग्रँदा गाउँबस्ती नै जोखिममा पर्ने अवस्था रहेको भन्दै उहाँले सम्बन्धित निकायले ठेकेदारलाई कडाइका साथ काम सम्पन्न गराउनुपर्ने माग गर्नुभयो ।