बोमलाल गिरी
नवलपुर, वैशाख १५ गते । नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीनसहित चार जना घाइते भएका छन् ।
जिल्लाको बौदीकाली गाउँपालिका–२ भोलाड चोकस्थित कालीगण्डकी करिडोरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । खर्साङबाट भोलाडतर्फ जाँदै गरेको ग १ त ६८२७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ग २३ प २२३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय रमेश खनालको उपचारका क्रममा रामपुर अस्पताल, पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अलिन पण्डितले जानकारी दिनुभयो ।
मोटरसाइकल पछाडि सवार उनका बुवा ६० वर्षीय पुष्पराज खनाल घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन तथा ट्याक्टर चालक स्थानीय १९ वर्षीय बसन्त नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मध्यविन्दु नगरपालिका–१ ध्वजमान चोकमा कोल्हुवाबाट डण्डातर्फ जाँदै गरेको लु २ ख ५०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ७२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थायी घर भई प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरमा ल्याब असिस्टेन्टका रूपमा कार्यरत ३६ वर्षीय खरेलप्रसाद चौधरी, उनकी श्रीमती ३४ वर्षीया निशा चौधरी र ६ वर्षीया छोरी निकी चौधरी घाइते भएका छन् ।
घाइतेहरूको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याङ्कर चालक मध्यविन्दु नगरपालिका–२ का ३३ वर्षीय दिनानाथ महतो थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।