गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । विभिन्न दलका सांसद तथा यस क्षेत्रका जानकारले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभएको छ ।
शिक्षामा कुल बजेटको २० प्रतिशत लगानीका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो । कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग शिक्षाको गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभयो ।
कुल बजेटको २० प्रतिशत शिक्षामा खर्च गर्नुपर्ने माग जायज भए पनि त्यति बजेट छु्ट्याएपछि गुणस्तर वृद्धिमा के प्रगति हुन्छ भन्ने विषय स्पष्ट नभएको बताउँदै कार्कीले भन्नुभयो, “उसो भए अहिले १० प्रतिशत बजेट छुट्याउँदा ५० प्रतिशत गुणस्तर कायम भएको छ त ? यस विषयमा गम्भीर परामर्श हुनु जरुरी छ ।”
रास्वपाकै सांसद हरिप्रसाद भुसालले विद्यालय शिक्षामा शिक्षक राजनीतिक रूपमा निकै बलिया रहेको र यसको असर शिक्षाको गुणस्तरमा परेको बताउनुभयो । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका सदस्य रहेकी प्रमिला गच्छदारले विद्यालय शिक्षामा लगानी बढाउनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताउनुभयो । विद्यार्थी कम भएका विद्यालयलाई आपसमा गाभ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले विद्यार्थीलाई पढाइसँगै सिपमूलक ज्ञान पनि दिनुपर्ने र त्यसका लागि आवश्यक बजेट राज्यले व्यवस्था गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सभाका सदस्य हरिप्रभा खड्गीले बालबालिकाको आवश्यकतालाई हेरेर शिक्षा बजेट वृद्धि हुनुपर्ने बताउनुभयो ।