नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १५ गते । भक्तजनको सुविधाका लागि बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोट मन्दिर परिसरमा दुईवटा अतिथि आवासगृह निर्माण गरिएको छ ।
बिहुँकोटबाट रोजगारीका सिलसिलामा जापान पुगेका व्यक्तिहरूको सहयोगमा उक्त आवासगृह निर्माण गरिएको हो । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा ५१ जनाबाट सङ्कलित करिब एक करोड रुपियाँ लागतमा २६ जनासम्म बस्न मिल्ने दुई पक्की आवासगृह निर्माण गरिएको संयोजक दीपक कँडेलले जानकारी दिनुभयो ।
तल्लो र उपल्लो कोतघर क्षेत्रमा निर्माण गरिएका आवासगृहहरू फूलपातीको दिन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । हालसम्म कुल एक करोड १० लाख रुपियाँ सङ्कलन भइसकेको र बाँकी रकमबाट अन्य पूर्वाधार विकासका काम गरिने कँडेलले जानकारी दिनुभयो ।
दुई आवासगृह निर्माणमा मात्र करिब एक करोड रुपियाँ खर्च भइसकेको छ । जापानमा बसोबास गर्ने बिहुँकोटवासीको सहयोगमा मन्दिर क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण तथा फूलपाती मेला आयोजना हुँदै आएको जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कँडेलले बताउनुभयो ।
उहाँका अनुसार बिहुँकोटमा आउने भक्तजनका लागि बसोबास र खानपानको व्यवस्था सहज बनाउन आवासगृह निर्माण गरिएको हो । प्रचारप्रसारको अभावमा ओझेलमा परेको बिहुँकोट मन्दिरलाई चिनाउन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न पनि यस्ता संरचना निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
पछिल्ला तीन वर्षयता शौचालय, तारबार, सडक ढलान, खानेपानी, पदमार्ग र प्रवेशद्वार निर्माणमा बिहुँकोट समाज जापान सक्रिय रहेको छ ।
फूलपातीका दिन सम्पन्न उक्त आवासगृहको उद्घाटन बिहुँकोट समाज जापानका संरक्षक तथा समाजसेवी दीपक सुवेदीले गर्नुभएको थियो । उहाँले धार्मिक पर्यटक आकर्षित गर्ने सम्भावना देखेर लगानी गरिएको र प्रचारप्रसारमा अझ ध्यान दिनुपर्ने बताउनुभयो ।