• १४ वैशाख २०८३, सोमबार

राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा

blog

राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा।

अमरराज नहर्की

तनहुँ, वैशाख १४ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो गृह जिल्ला तनहुँ आइपुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणको ठूलो उपस्थिति रहेको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलको आगमनलाई लिएर जिल्लाभरको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा र व्यवस्थित बनाइएको छ ।आफ्नै माटोको छोराले राष्ट्रको अभिभावकत्व ग्रहण गरेपछि गृह जिल्ला टेक्दा तनहुँवासीमा छुट्टै किसिमको उत्साह र गौरवको अनुभूति देखिएको छ ।

स्वागत कार्यक्रममा उपस्थित स्थानीयले राष्ट्रपति पौडेललाई आफ्ना गुनासा र विकासका अपेक्षाहरू सुनाउने अवसरका रूपमा समेत यस भ्रमणलाई लिएका छन् ।

राष्ट्रपतिको यो भ्रमण केवल औपचारिक कार्यक्रममा मात्र सीमित नभई आफ्नो जन्मभूमिको विकास र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यसँग पनि जोडिएको छ ।

गृह जिल्लाका विभिन्न शैक्षिक, सामाजिक र पूर्वाधार विकासका आयोजनाको अवलोकन गर्ने र स्थानीय जनप्रतिनिधिसँग जिल्लाको वस्तुस्थितिबारे जानकारी लिने उहाँको कार्यतालिका रहेको छ ।


जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रपतिको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली परिचालन गरेको छ ।

यस भ्रमणले तनहुँको पर्यटन र पहिचानलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।