• २१ असार २०८१, शुक्रबार

‘न्यायिक समितिलाई सक्रिय पारौँ’

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन १२ गते । महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायिक समितिलाई सक्रिय बनाउन सके स्थानीयस्तरमै प्रभावकारी र सर्वसुलभ ढङ्गबाट न्याय सम्पादन हुने बताउनुभएको हो। 

उहाँले कानुनबमोजिम न्यायिक समितिमा कानुनी सल्लाहकार राखेर निष्पक्ष न्याय सम्पादनको कामलाई प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो। नागरिकलाई न्यायिक समितिमार्फत आफ्नै दैलोमा न्याय पाउने अधिकार प्राप्त भएकाले यसमा सबै सरोकारवालाबीच समन्वय भई काम हुनुपर्नेमा उहाँको जोड थियो। महान्यायाधिवक्ता खातीले आफ्नै भवन निर्माण भएपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीको सेवा सुविधा चुस्त, दुरुस्त र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो। 

मलङ्गवा नगरपालिका–१० स्थित सर्लाही जिल्ला अदालत छेउमा निर्माण भएको तीन तले कार्यालय भवनको महान्यायाधिवक्ता खातीले उद्घाटन गर्नुभएको हो। दुई करोड ७० लाख १५ हजार ११८ रुपियाँ ६९ पैसाको लागतमा २२ कोठे भवन निर्माण गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख एवम् जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौलाले जानकारी दिनुभयो। आफ्नो भवन नहुँदा जिल्ला सरकारी वकिल कार्यालय यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो।